यस्ता छन् नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहका रोचक पक्ष
नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहसंग धेरै इतिहास जोडिएका छन् । उनी नेपालको अन्तिम राजा हुन त्यसैले पृथ्वीनारायण शाहको नामसंगै उनको नाम इतिहासमा जोडिएको छ । राज्य एकिकरण पछिको शाह कालको इतिहास पृथ्वीबाट शुरु भइ ज्ञानेन्द्रमा टुंगिएको हो ।उनी दुई पटक राजा भएका हुन् । तर, दुबै पटक उनी विषम र अस्वभाविक परिस्थितिमा राजा घोषित भए ।
पहिलो पटक २००७ सालमा उनी राजा घोषित भए । तत्कालिन राजा त्रिभुवनले उत्तराधिकारी महेन्द्र र नाति विरेन्द्रसमेतलाई लिएर भारतको शरणमा गएपछि नेपालमै रहेका ज्ञानेन्द्र राजा घोषित भएका थिए । त्यतिबेला उनलाई राजा घोषित हुनु र पुतली खेल खेल खेल्नु उस्तै थियो । उमेरनै सानो थियो ।दास्रो पटक उनी २०५८ सालमा राजा भए । उमेर निकै छिप्पिएको थियो । सबैभन्दा पाको उमेरमा राजा हुने इतिहास उनले रचे । दाजुको वंशनाश भएपछि राजा भएका थिए उनी । यसअघि रोलक्रम मिचिएपनि बंशनाशपछि अर्को राजा भएको उदाहरण छैन ।
विरेन्द्रको बंशनाशपछि राजतन्त्रप्रतिको आस्थामा गम्भीर धक्का लागिसकेको थियो । अस्वभाविक परिवेशमा राजा घोषित भएका ज्ञानेन्द्र केही ‘लोकप्रिय’ काम गर्न चाहन्थे, ताकी राजतन्त्रप्रतिको आस्था पुनारावृत्ति गर्न सकियोस् ।उनले अस्त्र बनाए माओवादी द्वन्द्वलाई । माओवादी द्वन्द्वलाई हल गर्ने, संसदीय विकृत्तिलाई कम गर्ने र दरबारको साख बढाउने उनको ‘रणनीति’ थियो । राजा भएको १७ महिनामै उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरिदिए । संसदीय व्यवस्थाको पुर्नस्थापनापछि जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गर्ने दुस्साहसी राजा उनै थिए ।
बुबा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई अपदस्थ गरेका थिए । दुईतिहाई बहुमतधारी विपीलाई अपदस्त गर्दासमेत सडकमा कोही निस्किएन । त्यस्तै भयो राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गर्दा । सडक सुनसानजस्तै थियो । संसदीय व्यवस्था र राजनीतिक दलप्रति वितृष्णा थियो । उनले संसदीय दल र माओवादी मध्ये एकलाई हात लिन सकेको भए परिस्थिति फरक पर्न सक्थ्यो । उनी आफ्नै बुबा महेन्द्रका सहयोगी खोज्न थाले ।
समय परिवर्तन भइसकेको थियो । बुबाका सहयोगीले उनले चाहेको शान्ति ल्याउने गरी काम गर्न सकेनन् । बरु माओवादी र संसदीय दल एक हुने दिशामा राजनीति अघि बढ्यो । बुबा महेन्द्रले विपी कोइरालाबाट छिनेको राजनीतिक सत्ता छोरा ज्ञानेन्द्रले सात दलीय मार्गचित्र अनुसार अघि बढाउने गरी भाइ गिरिजाप्रसाद कोइरालालाई सदाका लागि फिर्ता गर्न बाध्य भए ।
शान्तिप्रक्रिया, संविधानसभाको निर्वाचन हुंदै देश ०६५ सालमा गणतन्त्रमा प्रवेश गर्यो । २०४० बर्षको शाहतन्त्र इतिहासको कोटरीमा सिमित भयो । तर, ज्ञानेन्द्रले हरेश खाएका छैनन् । उनी दरबार छोडेपनि घरबार नछोडेको, आफुसंगको सहमति तोडिएको र राज्यस्रोतको दोहन भएको भन्दै विज्ञप्ति निकालिरहेका छन् । उनले आफुमाथिको भातृहत्याको आरोप प्रमाणित गर्न दलहरुलाई चुनौति दिए । उनीमाथि सोही आरोपले सबैभन्दा बढी प्रहार गरिएको थियो ।
ज्ञानेन्द्र रक्तपातविहिन ढंगबाट राजदरबारबाट बाहिरिए । शासनको स्वाददेखि नागरिकको भोगाइसम्म भोगे । तर, सबै जटिल परिस्थितिको सहज सामना गर्न सक्ने उनको खुबी तारिफयोग्य छ । उनका नकारात्मक पाटामात्रै केलाइयो भने एउटा इतिहासप्रतिको अन्याय हुनेछ ।
Gyandra Shah