News समाज

व्यक्तिगत रिसिबीले चालिस वर्षसम्म लम्बिएको गुठीकोे मुद्दा

व्यक्तिगत रिसिबीले चालिस वर्षसम्म लम्बिएको गुठीकोे मुद्दा

विक्रम सम्वत् १९९० सालको भुकम्पलगत्तै लक्ष्मीकृष्ण खड्गीका हजुरबुबाले ललितरपुरको मंगलबजारमा घर हालेका थिए । मोहीयानी हकको कानुन बनेसंगै हजुरबुबा लालबहादुर खडगीले हकदाबी गर्दै निवेदन दिएका थिए । त्यसयता तीन पुस्ताले निरन्तर गुठीमा निवेदन र आवश्यक कागजात बुझाउंदै आएका छन् ।

४० बर्षदेखि विचाराधिन मुद्दाका बारेमा गुठी संस्थानको बोर्डमा छलफल शुरु हुन थालिसकेको छ । नेपाल आजले लक्ष्मीकृष्ण खड्गीका हजुरबुबाले दायर गरेको र नातिको कांधमा आइपुगेको मुद्दाको समाचार प्रकाशित गरेपछि बोर्डले सो बारेमा छलफल थालेको हो । तर छलफल थालेको लामो समय बित्दा पनि मुद्दाको छिनोफानो हुने छाँटकाँट देखिएको छैन ।

असार ३ गते बसेको बोर्ड बैठकमा खड्गीको हकदाबीका बारेमा छलफल भयो । तर, उनले बुझाएका कागजात गुठीमा फेला नपरेपछि बैठक बिना निष्कर्ष सकियो । त्यसपछि गुठीमा पटक-पटक बैठक बस्यो तर निष्कर्ष केही निक्लिएन । गुठीका सबैभन्दा पूराना कर्मचारीसमेत रहेका सहप्रशासक हेम सुवेदीले मुद्दा कमजोर बनाउनका लागि कागजात लुकाएको आरोप पीडित पक्षको छ । सुवेदीसंग यसबारेमा बुझ्नका लागि नेपाल आजले गरेको प्रयास सफल हुन सकेन ।

लक्ष्मीकृष्ण खड्गीले गुठीमा बुझाएका सबै कागजात आफूसंग सुरक्षित रहेकाले गुठीले माग गरेमा आफूले पूनः बुझाउने जानकारी संस्थानका अधिकारीलाई दिएका छन् । तर गुठीले त्यसको बारेमा चासो देखाएको छैन । गुठीले कागज बिना बैठक बसेर के गर्छ । लक्ष्मीकृष्ण खड्गी भन्छन ‘ यो ढिलासुस्ती सबै मलाई न्याय नदिने जालझेल हो । नत्र पटक पटकको बैठक किन बिना निष्कर्ष सकिन्छ । त्यतीकै फाईल नै गायब हुन्छ, यो सरासर गुठीको कर्मचारीहरुको भ्रष्टाचार हो ।

के भन्छन गुठी अध्यक्ष

गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयबाट खड्गी पीडित भएको पत्र आएता पनि किन खड्गीको पक्षमा निर्णय भएन भन्ने नेपाल आजको सवालको उत्तर यसरी दिन्छन 'हामीले उहाँको विषयमा गम्भिर भएर छलफल गरेका छौ । गुठीमा प्रमाण भेटिएन । हामी निर्णय गर्न सक्ने अवस्थामा रहेनौं । तर मैलै उहाँको कुरा सुन्दा, अख्तियार तथा मन्त्रालयको पत्र पढ्दा उहाँको कुरा सुन्दा उहाँलाई अन्याय भएको मलाई पनि लाग्छ । मैले यहाँ पहल गरिरहेको छु । तर म्यानेजमेन्ट मिलाउन असाध्धै गाह्रो भएको छ । उहाले भनेजस्तो फाईल नै गाएब भएको छैन तर केही केही कागज चाही गाएब भएको जस्तो मलाई पनि लागेको छ । म आउनु भन्दा अगाडी उहाँहरुको के रिसिबी थियो त्यो कारणले पनि यो मुद्दामा केही गडबढ भएको मलाई लागेको छ । तर आउने बैठकसम्म हामी केही निकास निकाल्छौ ।'

के भन्छन खड्गी

गुठी संस्थानको नियत गलत भएर यस्तो भएको खड्गीको आरोप छ । उनलाई अब गुठीले न्याय दिनेमा आश मरिसकेको छ । तर सास रहुन्जेल आश नमार्ने बताउछन । अनेक बहाना गरेर यसरी नै झुलाउदै गयो भने आफु चुप नबस्ने उनको संकेत छ । उनी भन्छन ‘ अब पनि केही निर्णय भएन भने म आन्दोलन गर्छु । गुठीको भ्रष्ट कर्मचारी बिरुद्ध आवाज उठाउछु । कसैलाई ऐन कसैलाई चैन ? नत्र एउटा सानो मुद्धाको लागी बर्षौ लाग्छ र । ब्याक्तिगत स्वार्थ तथा रिसिबीले आफ्नो सस्थाको पद प्रयोग गरेर कसैले पद नै दुरुपयोग गर्न मिल्छ र ? हेम सुबेदी मेरो बिरुद्ध छन । उनकै कारणले यस्तो भैरहेको छ ।’

प्रस्तुतिः सागर बुढाथोकी

guthi sasthan 2

विशेष