फुटबलका दुई महारथी आमनेसामने
अन्तर्राष्ट्रिय फुटबलका बलिया प्रतिद्वन्द्वी जर्मनी र फ्रान्सबीच युरो २०१६ को दोस्रो सेमिफाइनलमा बिहिबार राति प्रतिस्पर्धा हुँदै छ । यी दुई देशको प्रतिस्पर्धालाई युरो २०१६ को सबैभन्दा कठिन खेलको रूपमा लिइएको छ । जर्मनी र फ्रान्स विश्वकप तथा युरोकप विजेता राष्ट्र हुन् । चारपटकको विश्वविजेता जर्मनीले तीनपटक युरोकप जितेको छ ।
एकपटकको विश्वविजेता फ्रान्सले दुईपटक युरोकप जितेको छ । फ्रान्सलाई चोटको कुनै समस्या छैन । सेमिफाइनलअघि जर्मनीका प्रशिक्षक जोचिम लोले इटालीविरुद्धको खेलभन्दा राम्रो खेल्नुपर्ने चुनौती भएको बताएका छन् । उनले आयोजक फ्रान्सविरुद्ध प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए । आयोजक फ्रान्सलाई घरेलु मैदानको फाइदा छ ।
क्वार्टरफाइनलमा अर्काे बलियो राष्ट्र इटालीलाई हराएको विश्वविजेता जर्मनीको आत्मविश्वास बढेको छ । तर, मुख्य खेलाडी घाइते भएपछि प्रशिक्षक जोचिम लो चिन्तित छन् । फ्रान्सविरुद्धको खेल डिफेन्डर माट्स हुमल्सले लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण गुमाउँदै छन् । फरवार्ड मारियो गोमेज तथा मिडफिल्डर द्वय सामी खादिरा र बास्टियन स्वेन्स्टाइगर पनि घाइते छन् ।
Urocup