जनतालाई प्रभावकारी सेवा दिन प्रमकाे आग्रह
असार - २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयतालाई मुलुकको परिस्थितिअनुसार प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रतिष्ठानले आज धुलिखेलमा आयोजना गरेको ‘सङ्घीयतामा प्रशासनिक पुनःसरंचना’ विषयको दुईदिने गोष्ठीमा उहाँले सङ्घीयता अन्यत्र ठाउँमा जस्तै ठ्याक्कै अनुसरण पनि गर्न सक्दैना, त्यसैले हाम्रो समाज र भूगोलका आधारमा यसलाई लागू गर्न पर्ने बताए । प्रधानमन्त्री ओलीले सङ्घीयतामा गएपछि जनतालाई प्रभावकारी सेवा तथा सुविधा दिन नसके बाख्राको टाउकोमा भैँसीको सिङ जोडेजस्तै हुने उल्लेख गर्दै कर्मचारीलाई पुरानो मानसिकता र सङ्कीणण सोचबाट माथि उठ्न आग्रह गरे ।
उनले भने– “सङ्घीयतामा हामी हुत्तिएर अघि बढ्न पनि सक्दैनौँ र जड्ताबाट ग्रसित भएर पनि अघि बढ्न सक्दैनौँ, त्यसैले सन्तुलित ढङ्गले अघि बढ्नु आवश्यक छ ।” प्रधानमन्त्री ओलीले सङ्घात्मक व्यवस्थालाई व्यावहारिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा सामान्य प्रशासनमन्त्री रेखा शर्माले सङ्घीयतामार्फत जनताको घरदैलामा सरकार पुर्याउन प्रयास भएको उल्लेख गर्दै प्रशासनको पुनःसंरचनाको विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।