ताजा खबर News

पत्रकार आचारसंहिता, २०७३ मस्यौदामाथि छलफल

पत्रकार आचारसंहिता, २०७३ मस्यौदामाथि छलफल

 असार - २४ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ मस्यौदा छलफलमा ल्याएको छ ।

press Council nepalअहिलेको परिवर्तित सन्दर्भमा ‘पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित–२०६०) ले सबै सञ्चारमाध्यमलाई समेट्न नसकेकोले सो आचारसंहिता सुझावका लागि छलफलमा ल्याइएको हो । पहिलेको आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने १४ बुँदा र गर्नुपर्ने ११ बुँदामा उल्लेख गरिएको थियो भने अहिलेको मस्यौदामा पत्रकार र सञ्चारमाध्यमको आचरणमा ३० बुँदा र सामाजिक दायित्वको रुपमा आठ बुँदामाथि छलफलका लागि सार्वजनिक गरिएको छ ।

छलफलमा नेपाल बार एसोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्यले पहिलेको तुलनामा अहिलेको आचारसंहिता अझै पृथक, बृहत् र परिमार्जित भएको हुँदा त्यसलाई सञ्चारमाध्यम र विज्ञको सुझावको आधारमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

पत्रकारद्वय ओम शर्मा र डा कुन्दन अर्याल, मधेस पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले छलफलमा ल्याइएको आचारसंहिता अपूर्ण भएका कारण त्यसलाई हरेक हिसाबले पूर्ण बनाएर मात्र कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे ।

उच्चस्तरीय मिडिया सुझाव समितिका अध्यक्ष काशीराज दाहालले काउन्सिलको आचारसंहितासँगै हरेक मिडियाले आ–आफ्नो आचारसंहिता बनाएर लागू गर्नुपर्ने धारणा राख्नुभयो । मस्यौदा पत्रकार महासङ्घको समन्वयमा ल्याइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले मस्यौदामाथि सकारात्मक सुझावका लागि आग्रह गरे । रासस

Press Council Nepal Ptrakar Acharshita

विशेष