अर्थ News

चितवनका १७ सहकारी खारेज हुने

चितवनका १७ सहकारी खारेज हुने

असार - २५ । चितवनमा यो वर्ष १७ वटा सहकारी खारेजीको प्रक्रियामा पुगेका छन् । नियमानुसार काम नगरेका र निक्रिय रहेकाले ती सहकारी खारेजी प्रक्रियामा गएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवम् सहकारी प्रशिक्षक चोलाकान्त पोखरेलले जानकारी दिए ।

खारेजी प्रक्रियामा परेका १७ सहकारीमध्ये तीन वटा सहकारीले खारेज गरी पाउँ भनेर निवेदन दिएका छन् भने अन्य सम्पर्कमै नआएकाले खारेजी प्रक्रियामा परेका हुन् । पोखरेलका अनुसार यो वर्ष २८ वटा नयाँ सहकारी दर्ता भएका छन् । थपिएकामा सबैभन्दा बढी कृषि सहकारी संस्था रहेको कार्यालयका सहकारी निरीक्षक ऋषिराम भुसालले जानकारी दिनुभयो । एउटा सहकारी स्थापना गर्न न्यूनतम २५ जना सेयर सदस्य चाहिने र प्रतिसेयर न्यूनतक रु १०० हुनुपर्ने सहकारी ऐनमा उल्लेख छ । थपिएकामा १६ वटा कृषि सहकारी, छ वटा वचत तथा ऋण सहकारी, एक वटा मौरीपालन सहकारी, दुई वटा ताजा तरकारी उत्पादक सहकारी रहेकोे भुसालले जानकारी दिनुभयो ।

यस्तै नयाँ दर्ता भएकामा दुई वटा सामाजिक उद्यमी र एउटा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । पछिल्लो समयमा सरकारले कृषिमा अनुदान बढाएको र कृषि पेसामा युवा आकर्षित हुँदै गएकाले यसरी कृषि सहकारी थपिएका हुन् । जिल्लामा आजसम्म नयाँ दर्तासँगै ६८६ वटा सहकारी पुगेका छन् । अघिल्लो वर्ष चितवनमा ६५० वटा सहकारी थिए । यस्तै आठ वटा विषयगत सहकारी सङ्घ छन् । जिल्लामा अहिले वचत सहकारी मात्रै २८३ पुगेको छ । दुग्ध सहकारी १३८ छ भने कृषि सहकारी १२६ पुगेको छ । विकट गाविस काउले र सिद्धि गाविसमा समेत सहकारी खुलेको भन्दै अहिले चेपाङसमेत सहकारीमा संलग्न भएर आयआर्जन बढाउन थालेको सहकारी प्रशिक्षण कार्यालयले जनाएको छ ।  

Chitawan Sahakari

विशेष