भोटेकोसी कटानबाट थप ३ घर बगे

असार - २५ । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोक, तातोपानी गाविसको लिपिङ बजारमा आज थप तीन घर बगाएको छ ।
तीन पक्की घरसहित एनसेलको टावर समेत नदी कटानले बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए । यसअघि ६० घर बगाइसकेकोे छ ।
तातोपानी क्षेत्रमा पानी नपरे पनि चीनबाट बगेर आउने सो नदीमा पानीको बहाब घटबढ हुने गरेको र नदीले बजार क्षेत्रतर्फ निरन्तर कटान गरिरहेकाले तातोपानीदेखि लिपिङ बजारमा रहेका सडकको तल्लो भागका घर उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिए । “नदी कटानले गाविस भवनको तल्लो भाग कटान गरिसकेको छ, भूकम्पपीडितको अनुदान सम्झौताको काम गाविस भवनमै बसेर गरिरहेको छु”– गाविस सचिव डम्बरबहादुर श्रेष्ठले भने, “शनिबारसम्म सक्नुपर्ने निर्देशन छ, त्यसैले खतरा मोलेरै जनताको काम गरिरहेको हुँ ।”
दिनभरि काम गरेर बेलुका भएपछि आफूसहित स्थानीयवासी बास बस्न सुरक्षित ठाउँ खोज्दै माथिल्लो गाउँमा जाने गरेको श्रेष्ठले बताए। नदीले ठाउँ ठाउँमा राजमार्ग पूरै कटान गरेपछि भिरमा परिणत भएको र धेरै ठाउँमा पैदल हिँड्ने बाटो समेत नभएको हुँदा ठूलो जोखिम उठाएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । नदीको कटान बस्तीतर्फ बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस
Badhi Pahiro
Sindhupalchok
