विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं २५ असार, व्यवस्थापिका संसदले आगामी आर्थिक बर्ष २०७३ /७४को बजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसदमा सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिएपछि विधेयक पास भएको हो । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “विनियोजन विधेयक २०७३ लाई पारित गरियोस्” भनि गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको हो ।
यससँगै आगामी आर्थिक वर्ष लागे लगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला भएको छ । यसअघि असार मसान्तमा बजेट पेश गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेश्की विधेयकबाट खर्त गर्ने परम्परा थियो । तर, नयाँ संविधानमा जेठ १५ मा नै बजेट पेश गर्ने व्यवस्था गरेपछि सहज भएको छ ।
विनियोजन विधेयक पास गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले आफना मन्त्रालयको विनियोजित रकम र योजनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
बजेटसँग सम्वन्धित अन्य विधेयक पास हुने प्रक्रियामा छन् । आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत विधेयक (एक्काईसौं संशोधन) २०७३ लाई स्वीकृत गरी शनिबारकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ ।
२९ गते बस्ने बैठकमा ती विधेयकमाथि दफावार छलफल हुनेछ । व्यवस्थापिका कार्यसञ्चालन नियमावलि अनुसार विधेयकलाई स्वीकृत गरेपछि संशोधन र पारितका लागि कम्तिमा ७२ घण्टा आपवश्यक पर्छ । सो अवधिमा सांसदहरुले त्यसमाथि संसोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।
बजेट विधेयकसँग आश्रति रहेका तीन विधेयकमाथिको दफावार छलफलपछि २९ गते नै आगामी आर्थिक बर्षको बजेट पास गर्ने तयारी संसद सचिवालयले गरेको छ । सरकारले आर्थिक बर्ष २०७३/७४का लागि गत जेठ १५ गते १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।