सरकारले कोइलाबाट तेल निकाल्ने
कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ । आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन् । उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जिनियर विजय सत्याल र एकजना पेट्रोलियम प्रयोगशाला इन्जिनियर पनि जाँदै छन् । भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि छन् ।
चीनले लगानी गर्ने
नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको स्रोतले बतायो । ‘कोइलाबाट तेल निकाल्ने प्रविधि पनि चीनमा मात्रै रहेछ, प्रविधिमा पनि सहयोग गर्छु भनेर चीनले आश्वस्त पारेको छ,’ स्रोतले भन्यो । सचिव सापकोटाको टोलीले सबै प्रविधि हेरेर नेपालमा कोइलाबाट तेल निकाल्न सकिने/नसकिने निष्कर्ष चिनियाँ पक्षलाई दिएर आउने स्रोतले बतायो ।
कोइला पनि चीनले दिने
नेपालमा कोइला खानी उत्खनन भइसकेको छैन । त्यसैले कोइलाबाट तेल निकाल्न गाह्रो हुने विषयमा नेपालस्थित चिनियाँ राजदूतावासलाई जानकारी गराइएको थियो । त्यसपछि नेपालले इच्छा देखाए कोइला पनि चीनले नै दिने सम्भावना रहेको स्रोतले बतायो । ‘हामीसँग कोइला छैन भनेर जानकारी गराएका थियौँ । त्यसपछि चीन आफैँले कोइला दिन्छु भनेको छ,’ स्रोतले भन्यो । प्रारम्भिक अध्ययनमा कोइलाबाट निकालेको तेलको मूल्य सस्तो पर्ने देखिएको स्रोतको भनाइ छ ।
कोइलाबाट तेल उत्पादन गर्न सरकार आफैँले उद्योग स्थापना गर्नुपर्ने चीनको सर्त छ । ‘नेपाल सरकारले व्यवस्थापन पक्ष हेरिदिए पुग्छ, हामी सहुलितदरमा ऋण र प्रविधि दिन्छौँ भन्ने चिनियाा पक्षको भनाइ छ,’ स्रोतले भन्यो । पहिला चीनले कोइलाबाट तेल उत्पादन गरेको प्रविधि हेरेर मात्रै सरकारले यसबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर, प्रशोधित तेल ल्याउने योजना अलपत्र
चीनबाट कुल खपतको एकतिहाइ प्रशोधित इन्धन ल्याउने ११ कात्तिकमा दुई देशका सरकार स्वामित्वका पेट्रोलियम कम्पनीबीच समझदारी भएको थियो । तर, ८ महिना बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन । बाटोको समस्या देखाउँदै सरकारले चीनबाट तेल ल्याउन ढिलाइ गरिरहेको छ । अर्कातिर प्रतिलिटर करिब ३० रुपैयाँ महँगो पर्ने भन्दै चिनियाँ तेल ल्याउने योजना थन्क्याइएको छ ।
प्रधानमन्त्रीको भ्रमणमै सहमति
प्रधानमन्त्री केपी ओलीले चैत पहिलो साता चीन भ्रमण गरेकै समयमा कोइलाबाट तेल निकाल्न सकिने विषयमा चीनले जानकारी गराएको थियो । र, नेपालले पनि कोइलाबाट तेल निकाल्ने सोच बनाए सहयोग गर्ने चीनले बताएको थियो । त्यसपछि दुवै देशले कोइलाबाट तेल निकाल्ने प्रारम्भिक सहमति गरेका थिए ।
‘सोही सहमतिअनुसार नेपालमा कोइलाबाट तेल निकाल्न सम्भव छ कि छैन भनेर अध्ययन गर्न नेपाली टोली चीन जान लागेको हो,’ स्रोतले भन्यो । चीनले कोइलाबाट तेल निकालिरहेको हेर्न टोली कारखानासम्मै पुग्नेछ । ३१ असारसम्म टोलीले चीनका विभिन्न कारखाना पुगेर कोइलाबाट तेल निकाल्ने प्रविधि हेर्नेछ।
(नयाँ पत्रिकाबाट)