अन्तरवार्ता मनोरञ्जन मेरो परिवार मेरो कथा News

रेखा थापासहित तीन्तीनवटी श्रीमती रिझाउँन नसक्नेले चौथो विहे किन गर्न खोजेको ? छबी ओझासँग विशेष अन्तरवार्ता

रेखा थापासहित तीन्तीनवटी श्रीमती रिझाउँन नसक्नेले चौथो विहे किन गर्न खोजेको ? छबी ओझासँग विशेष अन्तरवार्ता

नेपाल आजले किन हुन्छ सम्बन्ध विच्छेद ? भन्ने विषयमा श्रृखंलाबद्ध हिसावले बहश चलाउंदै आएको छ । यो अंकमा हामी नायिका रेखा थापासहित ३ वटी श्रीमतीबाट टाढा भएका छबि ओझासँग बहश गर्दैछौं । रेखा थापाले उनलाई श्रीमती रिझाउँन नसकेको आरोप लगाएकी थिइन् । सोही सेरोफेरोमा रहेर कञ्चन न्यौपानेले छबि ओझालाई प्रश्न बर्साएकी छिन् । गगन थापाले छायांकन गरेको भिडियो अन्तरवार्तामा छबिले जीबनका कैयौं पाटा खोलेका छन् ।

अन्तरवार्ताको सम्पादित भाग लिखितरुपमा दिइएको छ । पूर्ण अन्तरबार्ता भिडियोमा छ ।

यहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ?

म सुनसरी धरानमा जन्मेको हो । सानैदेखि मैले उतै पढेँ । म बीस वर्षसम्म धरानमै बसेको हो । धरान कलेज र धरान पब्लिक स्कुल पढेँ । त्यसपछि म यो सिनेमा इन्डस्ट्रिमा आएको हो ।

फिल्मलाइनमा कसरी आउनुभयो ?

मेरो घर धरानको चत्र लाइनमा हो । धरानमा भएको सिफ सिनेमा हल मेरो साथीको हल हो जुन अहिले पनि छ । सानैदेखि उहाँहरुसँग हलमा जाने, एउटै सिनेमा सात आठ पल्ट हेर्ने । त्योबेलामा हिन्दी फिल्म नेपाली भन्दा पनि बढी चल्थ्यो । त्यहि सिनेमा हेर्ने क्रममा हिन्दी सिनेमाको वितरक भइयो । कलकत्तातिर पनि घुम्न गइयो । हिन्दी सिनेमा कलकत्ता र कटियारबाट ल्याउने र नेपालमा चलाउने गर्दागर्दै काठमाडौँ आइपुगे । काठमाडौँ आइसकेपछि दिपक रायमाझीसगँ भेट भयो । उहाँहरुको भाग्यरेखा भन्ने फिल्मलाई मैले किनें । त्यो सिनेमा त्यति राम्रो गएन । त्यसपछि हामी पनि सिनेमा बनाऊँ भनेर मैले नेपाली सिनेमा युगदेखि युगसम्म बनाए । त्यो सिनेमाबाट मैले नेपाली सिनेमामा काम गर्न सुरु गरेको हो । मेरो पढाइ त्यति राम्रो थिएन । आइकमको दोश्रो वर्षमा व्याक लागेपछि पढ्नै छोडिदिए । सिनेमा नै संसार बन्यो ।

पारिवारिक पृष्ठभूमीका बारेमा केही भन्न चाहनुहुन्छ ? हामी खेतिपाती गरेर जीवन गुजारा गर्ने मान्छेहरु हो । त्योबेलामा म नेपाली सिनेमा जगतमा पहिलो पल्ट नै निर्माताको हैसियतले आएँ । पैसा भएर भन्दा पनि मैले दिमाग लगाएर साथिभाइहरु जम्मा गरेर सिनेमा बनाएको हो । यहाँसम्म आएर हेर्दा मैले सिनेमा बनाउन थालेकै छब्बिस वर्ष भयो । मैले आजसम्म कसैको एक पैसा पनि नखाई इमान्दारितापूर्वक काम गरेर निर्माता भएँ । पैसा भएरै निर्माता भएको होइन । मलाई त्यतिखेर राजेश हमाल जीेले पनि भन्नुभएको थियो ‘तपाई आफै किन नखेल्ने ?’ किनभने म जवान थिए । मैले भने मलाई राम्रो सिनेमा बनाउने इच्छा छ । एक्टर बन्न मैंले कहिल्यै जानिन । छवि ओझलाई बुढो हुनपनि कहिल्यै आएन भन्छन् नि ? दिल सधैं जवान भन्छन् ।

तन पनि बुढो भएको छैन । आज म र सलमान खान उस्तै उस्तै हो । सलमान खानको भर्खर सुल्तान चलेको छ, बबाल भइरहेको छ । ऊ जवान म चाहिँ बुढो ? एउटै उमेर त हो नि । सामाजिक परिवेशमा हेर्दा त हो । उसले एक्सर्साइज गर्ला, करोडौँ कमाउँला, उसले विहान बेलुका जिम गर्ला मैले त्यस्तो केहि गर्दिन । तर उमेर हेर्ने हो भने त उहि हो नि । उसको चाहिँ मन मेरो चाहिँ मन होइन र ? मैले जाने र बुझे अनुसार सिनेमा बनाउने मानिस कहिल्यै पनि बुढो हुदैँन । कुनै न कुनै रुपले ऊ एक्टिभ भइरहेकै हुन्छ । त्यसमा पनि म निर्माता परेँ । मैले सिनेमा बनाउनुपर्छ, म हरेक ठाउँ जान्छु र हरेक कुराहरु बुझ्छु । अहिले नयाँ किसिमको सिनेमाहरु आइरहेका छन् । हामीले पनि त्यो सोचमा हिड्नुपर्छ । त्यसैले म भोलि पनि बुढो हुँदिन । जुन दिन बुढो हुन्छु त्यो दिनदेखि फिल्म इन्डस्ट्रि नै छोडिदिन्छु । जबसम्म म काम गर्छु, म कहिल्यै पनि बुढो हुन्न ।

तीन तीनवटा श्रीमतीमा विफल भएको भनेर भन्छन् ? तरुनो पनि कसरी भन्नु ?

तपाइले गलत भन्नुभयो तीनवटा होइन, चारवटा हो । सिनेमा इन्डस्ट्रि पनि मेरो बुढी हो । सिनेमासगँ मेरो सबभन्दा लामो सम्बन्ध चलिरहेको छ । अरु त सब आउँने जाने हो । अरुसगँ त विवाह भन्दा पनि लभ परेजस्तै हो, विवाह भन्दा पनि । गर्लफ्रेण्डहरु फेरिएजस्तै त भयो नि । मेरो सिनेमा इन्डस्ट्रि मात्र हो श्रीमती । आज छब्बिस वर्षसम्म चलिरहेको छ । यो इन्डस्ट्रिबाट जन्मेका मेरा धेरै बच्चाहरु छन् । मैले सम्पूर्ण कुराहरु बिर्सेर सिनेमालाई नै अघि बाढाएको छु ।

आफ्नो के कमजोरीको कारण परिवार जोगाउन सकिएन जस्तो लाग्छ ?

त्यो भन्नु बेकार हो । म बिफल भएको हो कि सामनेवाला बिफल भएको हो । म त चलिरहेको छु । मेरो एउटा गन्तव्य छ त्यो गन्तव्यमा म अघि बढेको बढ्यै छु । म पछाडि फर्केर हेर्दिन आजसम्म । मैले हेर्ने गरेको पनि छैन । अगाडि बढ्दा मलाई जस जसले सहकार्य दिन्छन् म लिँदै जान्छु । बाँकी रह्यो किस्मतको कुरा ।

रेखा जीले छवि ओझाले तीन तीनवटा स्वास्नी रिजाउन नसकेको भन्नुभयो नि ?

रिजाउन सक्यो या सकेन भन्ने कुरामा महिलाहरुले पनि दोष दिन्छन् । हाम्रो यो नेपालमा नारीहरु नै बढी हाबी हुनुहुन्छ । म सिनेमा बनाउँदा पनि आजसम्म नारी प्रधान नै सिनेमा बनाउँछु । नारीलाई माया प्रेम र सम्मान गर्छु । म जहिल्यै पनि नारी प्रधान नै सिनेमा गरिरहेको मान्छे हो । उहाँहरुले के भन्नुहसन्छ कसो भन्नुहुन्छ भन्ने कुरामा म ध्यान नै दिन्न । किनभने नारीहरुले जहिल्यै पनि आरोप लगाउँने गरेका छन् । उहाँहरुले के गर्नुभयो मैले आजसम्म भनेकै छैन र भन्दा पनि भन्दिन । जब मन मिलेन भनेपछि अर्कालाई गाली गरेर फाइदा नै छैन ।

तपाईमा के कमि भयो जस्तो लाग्छ ? रेखामा कमि के पाउनुभयो?

खै थाहा छैन । उहाँहरुले के खोज्नुहुन्छ मलाई के थाहा । रेखा जी सगँ बाह्र वर्ष बसियो । कुरा नमिल्ने भएको भए दुई तीन वर्षमै सक्किन्थ्यो होला । पछि विचार मिलेन र नमिलेपपछि सकियो । आज भन्दा पाँच वर्ष अघि नै हामी एक अर्काबाट अलग भइसकेको हो ।

आजकाल सम्बन्ध विच्छेदको कुरापनि सामान्य हुन थोलको छ, के नेपाली समाजमा पनि माया सस्तो भएको हो ?

जति दिन सगैँ हिंडियो, बसियो त्यहि नै माया हो नि । जब छुटियो, त्यसपछि त माया सक्किहाल्यो नि । तर हुन्छ । मैले अहिले पनि रेखा जीलाई माया गर्छु तर माया गर्ने तरिका फरक छ । रेखाजी मेरै सिनेमााबाट आउनुभएको हो । उहाँले माने पनि नमाने पनि मेरो सिनेमा निरन्तर खेल्नुभएको छ । उहाँले पहिलो फिल्म नै मेरो फिल्म गर्नुभएको हो । त्यो नाताले पनि उहाँ मेरो फिल्म इन्डस्ट्रिको बच्चा हो । उहाँसगँ त सधैँ माया प्रेम त रहिरहन्छ । रेखा जी सगँ छुट्टिए पनि बीचमा हामीले धेरै सहकार्य गर्यौ । फिल्म पनि गर्यौ । रेखाजीको अन्दाज भन्ने सिनेमाबाट हामी छुट्टिएका थियौँ । त्यसपछि उहाँसगँ सहकार्य गरेर हमेशा, रावण र कालीजस्ता फिल्महरु गरेँ मैले । मलाई आवश्यक परे म उहाँसगँ सहयोग लिन्छु र उहाँलाई आवश्यक परे म सगँ सहयोग लिनुहुन्छ । छुट्टियौँ भनेर हामी एकअर्काको दुश्मनको रुपमा कहिल्यै पनि हिँडेका छैनौ र भोलि पनि हिँड्दैनौ । उहाँसगँ सहकार्य गरेर जिन्दगीभर काम गरिन्छ ।

अझ पनि रेखा र छविसगैँ रहेको हेर्न चाहनेहरु धेरै छन् नि ?

एउटा इतिहास छ रेखा थापा र छवि ओझाको । पारिवारिक कुरालाई छोडेर अरु सम्पूर्ण कुरामा हाम्रो मिलेमतो हुन्छ ।

तपाईहरुले कानूनीरुपमै सम्बन्ध विच्छेद गर्नुभयो, छविराज चौथो विवाह गर्न हतारिए भन्छन् नि ?

हतारिने भनेको कस्तो ? रेखा थापासगँ छुट्टिएको पाँच वर्ष भयो । कसरी हतारियो ? आज पो कागज गरेको त । आज त मिलेमतो भएर कागज भएको हो नि । मिलेमतो नभएको भए मैले डिभोर्स दिएर रेखाजीले डिभोर्स दिन्न भनेको भए पनि डिभोर्स हुँदैनथ्यो । या रेखाजीले डिभोर्स दिएर मैले नमानेको भए अलिकति लम्बिन्थ्यो होला । भोलि रेखाजीले विवाह गरेपनि हतारिएको होइन मैले विवाह गरेपनि हतारिएको होइन । पाँच वर्ष पछि छुट्टिदाँ कहाँ हतारियो ? यो मिडियाले फैलाएको हल्ला मात्र हो । लेख्ने शैलीमा मात्र फरक परेको हो । यो हतारिएको हैन । यसलाई गलत अर्थ लगाइएको छ । न रेखा जीलाई हतार छ न मलाई हतार छ ।

त्यसोभए चौथो विवाह गर्नुहुन्छ या हुन्न ?

अहिलेसम्म मैले यो सोचेको पनि छैन । सिनेमा जगतसगँ लामो विवाह गरेकै छु । सिनेमा जगतसगँ त मेरो डिभोर्स हुँदै हुँदैन । सामाजिक हिसाबले भोलिको दिनमा नारीसंगपनि विहे गर्न सक्छु । साथीभाइहरुले एक्लै कति बसेको पनि भन्ने गरेका छन् । घर परिवारले पनि एक्लै बस्दा दःुख पाउछौं भनेर भनिरहनुहुन्छ । त्यो भोलिको कुरा हो । भोलिको मुडमा आउँने कुरा हो । अहिलै नै यो हतार भएर डिभोर्स पेपर गरेको हैन । भोलि रेखाजीलाई विवाह गर्न मन लाग्ला या मलाई लाग्ला । त्यो रोकिराख्ने होइन नि त । त्यो त पाँच वर्ष अघि सहमति भएको कुरा आज हामीले लागु गरेका हौँ । यसको मतलब अहिले कागजि रुपमा डिभोर्स गर्ने वित्तिकै छवि या रेखालाई हतार भयो भन्ने होइन । तर हामीले कानूनी रुपको बाटो खुल्ला गरेका हौँ ।

यहाँले शिल्पा पोख्रेल जी सगँ विवाह गर्न लाग्नुभएको कुरा छ नि ?

त्यो त अब विभिन्न फिल्महरुमा मैले शिल्पाजीसगँ निरन्तर काम गरिरहेको छु । लज्जादेखि किस्मत २ सम्म आउँदा उहाँ नै हुनुहुन्छ । भोलिको फिल्ममा पनि उहाँ नै हुने कुरा भइरहेको छ । भोलि अर्को फिल्ममा लिइयो भने झनै मान्छेलाई शंका हुन्छ होला । मलाई शिल्पा पोख्रेल मनपर्छ र शिल्पाले गरेका काम पनि राम्रो लाग्छ । त्यो भएर निरन्तर अहिले काम गरिरहेका छौँ । भोलि जे पनि हुन सक्छ । अहिलेसम्म हाम्रो त्यस्तो केहि पनि छैन ।

त्यसोभए विवाहको हल्ला गलत हो ?

गलत मैले भनेकै छैन । मन नपर्ने भए मैले शिल्पाजी सगँ फिल्ममै काम गर्दिनथेँ होला । तपाईले अन्दाज के गर्नुभएको छ भने यसले निरन्तर काम गरिरहेको छ, भनेपछि यहि नै हो भनेर सोच्नुहुन्छ । तर मैले त्यो हिसाबले होइन । भोलिको दिन त देखेको छैन नि त । को सगँ हुन्छ कहाँ हुन्छ भन्ने कुरा । भोलि मलाई मन लाग्यो भने सोध्न पनि सक्छु । भोलिको कुरा हो त्यो । अहिले त मैले भनेकै छैन । अहिले त हामी काम गरिरहेका छौँ । हावा नलागी पात पनि हल्लिदैन भन्छन् । अहिलेसम्म जति पनि मिडियामा कुरा आए मलाई सोधेर लेखिएको छैन । सोधेको भए म यसरि नै जवाफ दिइहाल्छु नि ।  

रेखाजी र तपाई छुटिएपछि रेखालाई मात्र औँला उठाइयो, तपाई त विन्दास ?

यो पुरुषप्रदान देश होइन, यो महिलाप्रदान देश हो । तपाई आज कानूनमा जानुस् मैले डिभोर्स गर्नुपर्यो भने पाँच वर्षमा पनि नहुन सक्छ । केटी मान्छेले चाह्यो भने आज डिभोर्सको निवेदन दियो भोलि हुन्छ । तपाईलाई थाहा छ ? यो देशमा तपाईले (महिलाले) आज जे पनि आरोप लगाउन सक्नुहुन्छ र जे पनि गर्न सक्नुहुन्छ । यसलाई नारी प्रदान देश भन्नुपर्छ । यहाँ अधिकार ज्यादा नारीको छ, पुरुषको छैन ।

छविले तीन तीनवटी स्वास्नी रिजाउन नसक्दा कसैले प्रश्न उठाएन रेखालाई मात्र किन उठाइयो ?

सबैले मलाई नै भनिराखेका छन् नि, मैले रिजाउन सके या सकिन भनेर । मेरो सोच र अरुको सोच नमिलेको पनि त हुन सक्छ । धेरै आरोप मैले खेपेको छुु । मैले कहिल्यै बोलिन । किन बोेल्ने ? त्यतातिर जाने कुरै हैन । आफ्नो काम के हो ? म त्यतातिर लाग्छु । मैले आजसम्म रेखाजीले यस्तो र उस्तो गर्नुभयो भनेर भनेको छ ? तर अर्को पक्षबाट त आइरहेको छ । म राम्रो अरु नराम्रो भनेर म भन्दै भन्दिन । दुईवटा गाडि जुध्छ, दुर्घटना हुन्छ र पुलिस थानामा दुबै गइन्छ । एक हातले ताली बज्दैन दुबै हात चाहिन्छ । त्यस्तै लफडा हुँदा दुबैको गल्ति हुन्छ । तर देखाउने बेलामा एउटाले मात्र देखाउँछ । म त्यसो गर्दिन । हामी दुइजनाकै गल्ति छ ।

रेखाले बच्चा जन्माउँन नचाहँदा तपाइले बाध्य पार्न खोज्नुभयो । तपाईले रेखाजीको करिअरसंग मतलब गर्नुभएन । यसो गर्न मिल्छ ?

त्यो त उहाँले लगाएको आरोप हो । तपाईले यो कुरा मबाट सुन्नुभएको छ ? म यस्तो कुरा बोल्दै बोल्दिन । दुइजनाको कुरा नमिलेर हामी अलग्गियौँ भने दोष मलाईमात्र दिने होइन । मन मिलेन सकियो । म यसको पक्षमा छैन । त्यस्तो थियो भने रेखा थापा यति माथि पुग्दै पुग्नुहुन्न थियो । मैले उनलाई समर्थन गर्दै यहाँसम्म पुर्याएँ । फिलम खेल दौडाएँ । मैले सहयोग नगरेको भए उहांको यो उचांइ हुन्थ्यो ? मैले श्रीमतीको रुपमा उहाँलाई घरमा मात्र राखेको भए यत्रो सिनेमा त खेलिदैँनथ्यो होला । उहाँलाई सबै कुरामा मैले समर्थन गरेको छु । यो सबै कुराहरु आरोप हो । यो दोष दिएर मिल्ने कुरा पनि होइन ।

तपाईलाई पछिल्लो समयमा मनपरेको नेपाली फिल्म र नायिका को हो ? मलाई आफ्नै  फिल्म राम्रो लागछ । नायिका पनि आफ्नै राम्रो लाग्छ । मलाई शिल्पा पोख्रेल मनपर्छ किनभने मैले अरुसगँ काम पनि गरेको छैन । सिनेमा सबै साथिहरुको मनपर्छ र हेर्छु पनि । यहाँ आएका ९० प्रतिशत सिनेमा हेर्छु । 

chhabi raj ojha rekha thapa

विशेष