ताजा खबर News स्वास्थ्य

लोकमानसिंह कार्की यसरी हुंनेछन् निलम्बित, गाह्रो छैन महाअभियोगको प्रक्रिया

लोकमानसिंह कार्की यसरी हुंनेछन् निलम्बित, गाह्रो  छैन महाअभियोगको प्रक्रिया

डाक्टर गोविन्द केसीको माग ठीक वा बेठीक समीक्षाको विषय हो । तर, केसीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीको पद धरापमा पर्ने सजिलो बाटो भने फेला परेको छ । संविधानमा अख्तियार प्रमुखको कार्यावधी ६ बर्ष हुने उल्लेख छ । भाग २१ को धारा २३८ को उपधारा ३ एक पटक पढ्नुहोस् । सो भागको तस्बिर यहीं समाचारमा छ । अख्तियार प्रमुखको जागिर जाने ४ तरिका छन् । एकः निजले राजिनामा दिएमा । दुईः निज ६५ बर्ष पुगेमा । तीनः धारा १०१ बमोजिम महाअभियोग लागेमा । चारः शारीरिक वा मानसिकरुपमा काम गर्न असक्षम भनि संवैधानिक परिषद्ले गरेको प्रस्ताव राष्ट्रपतिले स्विकृत गरेमा ।

अब एकै छिन् गोविन्द केसीको माग नियालौं । उनले कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग गरेका छैनन् । उनी विरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेर केसीले कानूनीरुपमा चलाखी गरेका छन् । त्यसो भए प्रक्रिया कसरी अघि बढ्छ त ? संविधानको धारा १०१ मा सर्वोच्व अदालतका प्रधानन्यायाधीश तथा संवैधानिक आयोगका प्रमुख र पदाधिकारीलाई महाअभियोग लगाउन सकिने प्रावधान छ । सो प्रावधान अनुसार संसदमा बहाल रहेका एक चौथाइ सदस्यले कसैका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । एक चौथाइ भनेको १४९ जना सभासद हो । कांग्रेस र एमाले कुनै एक दलकै संख्या महाअभियोग प्रस्ताव दर्ता गराउन काफी छ । यि दुई दलबाहेका दललेपनि महाअभियोग प्रस्ताव दर्ता गराउन सक्नेछन् । वा, स्वतस्फुर्तरुपमा सांसदहरु मिलेमा १४९ सदस्य पुर्याउन गाह्रो हुंनेछैन ।

महाअभियोग प्रस्ताव दर्ता भएमा के हुन्छ ? समाचारमा संलग्न गरिएको धारा १०१ को उपधारा ६ राम्रोसंग पढ्नुहोस् । महाअभियोगको प्रस्ताव दर्ता भएपछि सम्बन्धित व्यक्ति स्वतः निलम्बनमा पर्नेछ । ऊ प्रस्तावको किनारा नलागेसम्म पदीय जिम्मेवारीमा रहेर भुमिका निर्वाह गर्न पाउनेछैन । प्रस्ताव आजको आजै टुंगो लाग्दैन । ११ सदस्यी महाअभियोग समिति हुनेछ । सो समितिले ३ सदस्यी कार्यदल बनाउनेछ । यस्तो हुंदाहुंदै बर्षौ बित्नेछ । महाअभियोग प्रस्ताव दर्ता भइहालेमा कार्कीको समयावधी रहिन्जेल प्रस्तावको छिनोफानो नहुंने तर उनले कामपनि गर्न नपाउने नियती हुनसक्छ । 

के महाअभियोग प्रस्ताव दर्ता होला ?

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएकोमा धेरै नेताले आन्तरिकरुपमा पश्चताप व्यक्त गर्ने गरेका छन् । एमालेका केही नेतालाई अख्तियारले छानबिन थालेपछि नेताहरु अध्यक्ष केपी ओलीकोमा पुगेका थिए । छानबिनमा परेका नेताहरुले आफुहरुमाथि कार्कीले प्रतिसोध सांधेको भन्दै ओलीमाथि खनिएका थिए, ‘सर्पलाई दुध पिलाएर राख्ने ?’ ओली प्रधानमन्त्री भइसकेका थिएनन् । उनले मधुर स्वरमा भने, ‘कार्कीले खुट्टै समातेपछि नाइ भन्न सकिन । नियुक्तिका बेला कमजोरी भयो ।’ ओली पार्टी अध्यक्ष नभएपनि कार्कीको नियुक्तीमा उनले भुमिका खेलेका थिए । एमालेको एउटा हिस्सा कार्कीसंग असन्तुष्ट छ ।

एकीकृत माओवादीले कार्कीको नियुक्तीलाई आन्तरिकरुपमा त्रुटीपूर्ण ठहर गरिसकेको छ । कांग्रेस यहीं बेला ओलीमाथि चुनौति थप्न चाहन्छ । यि सबै हिसावले हेर्दा कार्कीमाथि चुनौति देखिन्छ । आठौं पटक अनसन थाल्दा केसीपनि आलोचित भएका छन् । जति नै आलोचना गरेपनि हिजो केसीलाई बोक्नेहरुले आज चटक्कै छाड्न नैतिक हिसाबले पनि गाह्रो छ । उनी यति जब्बर छन् की ७ पटक सरकारलाई झुकाइ छाडेका छन् । अबका दिनमा केसीकै वरिपरि संचारमँध्यम रहनेछन्ः पक्ष वा विपक्षमा । यस्तो स्थितिमा सांसद दबाबमा पर्नेछन् । केसीलाई मर्नबाट जोगाउनपनि केही बीचको उपाय खोजिनेछ । सम्भवतः महाअभियोग प्रस्ताव दर्ता गर्ने तर पारित नगर्ने विकल्पमा सांसद पुग्नेछन् । त्यसो भएपनि कार्की त निलम्बनमा पर्ने छन् ।

अख्तियारको प्रतिक्रिया

केसीले ४ सूत्रीय माग राखेको केही घण्टा नबित्दै अख्तियारले आक्रमक विज्ञप्ति निकाल्यो । केसीलाई मानसिक सन्तुलन गुमाएको लगायतका कुरा लेखेपछि अख्तियारको साख झनै खस्कियो । यो त संवैधानिक आयोग हो । केसीले मानसिक सन्तुलन गुमाएकै थिए भनेपनि आयोगले त्यो स्तरको गालीगलौज गर्न सुंहाउने थिएन । नागरिक केसीको शैली र संवैधानिक आयोगको शैली एउटै तराजुमा नाप्न मिल्दैन । विज्ञप्तिको चौतर्फी आलोचना भएपछि अख्तियारले निष्कर्ष निकाल्योः अब केसीका बारेमा आइनोपनि नगर्ने, मरे मरुन बांचे बांचुन । आयोगसम्बन्ध अधिकारीहरुसंग केसीका बारेमा सोध्यो भने बोल्न मान्दैनन् । अफ द रेकर्डमा भन्छन्ः ऊसले मर्छु भन्दैमा कसैले पद छोड्ने कुरा आउंछ ?

Dr Govinda KC impeachment lok man singh mahaabhiyog

विशेष