बदला नै बदलाले चलिरहेको युरोकप
युद्धमा जस्तै खेलकुदमा बदला धेरै नै प्रयोग हुने शब्द हो । तर सबै खेलमा बदला सम्भव हुँदैन । जारी युरोकप फुटवल प्रतियोगितामा भने बदलाको सिलसिला नै चलेको छ ।
युरोकपको नक आउट चरणको खेलबाटै प्रतियोगितामा टोलीहरूबीच बदलाको सिलसिला सुरु भएको हो ।
प्रतियोगिताको सातौं प्रिक्वार्टरफाइनल खेलमा इटालीले साबिक विजेता स्पेनविरुद्ध बदला लियो । इटाली स्पेनलाई २(० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्यो ।
युरोकपअन्तर्गत सन् २०१२ को संस्करणको फाइनलमा स्पेनसँग ४(० गोलले पराजित भएको इटाली सन् २००८ को संस्करणको क्वार्टरफाइनलमै स्पेनसँग टाइब्रेकरमा पराजित भएको थियो ।
इटालीका लागि स्पेनविरुद्धको यस पटकको जित २२ वर्षपछिकै पहिलो हो । सन् १९९४ को विश्वकपपछि इटालीले स्पेनलाई पराजित गर्न सकेको थिएन । स्पेन लगातार तेस्रो पटक युरोकप जित्ने योजनामा थियो ।
प्रतियोगिताको क्वार्टरफाइनल चरणमा इटाली पनि पराजित हुन पुग्यो । यस पटक बदला लिने पालो थियो जर्मनीको ।
जर्मनीले इटालीलाई सडन डेथमा ६(५ गोलले हरायो । युरोकप तथा विश्वकपमा जर्मनीले इटालीलाई हराएको यो पहिलो अवसर थियो ।
जर्मनीको त्यो खुसी लामो समय टिकेन । प्रतियोगिताको सेमिफाइनलमा जर्मनीसग फ्रान्सले बदला लिँदै उपाधि होडबाटै बाहिर पठाईदियो ।
शुक्रबार बिहान भएको खेलमा आयोजक फ्रान्सले जर्मनीलाई २(० ले पराजित गर्दै फाइनलमा पुगेको छ । यस अघि जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपमा गरी नौ पटक उपाधि होडबाट बाहिर पठाएको छ । त्यसमध्ये ६ पटक त जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपको सेमिफाइनलमै पराजित गरेको थियो ।
आइतबार हुने फाइनल खेलमा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलले पछिल्लो १० अन्तर्रा्ष्ट्रिय खेलमा फ्रान्सलाई पराजित गर्न सकेको छैन । के फाइनलमा पनि बदलाकै नतिजा निस्केला ?
euro cup
euro cup finale