तीनवटा दलको नेतृत्वमा आलोपालो चुनाव गरौः पोख्रेल
काठमाडाैँ २६ असार नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनको लागि राष्ट्रिय सहमति चाहिएको हो भने तीवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ चुनाव गराउनको लागि राष्ट्रिय सहमति चाहिदैन तर सक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौं,’ उनले भने, ‘केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार रहेकोले स्थानीय निकायको निर्वाचन यही सरकारलाई गर्न दिऔ।’
पोख्रेलले माओवादीसँग नौ बुँदे बाहेक कुनै भद्र सहमति नभएको दावी गर्दै नौ बुँदे सहमति सँगै तीन बुँदे अर्को सहमति ल्याएको तर प्रधानमन्त्रीले आफू कुनै बन्धनमा बाधिएर सरकार चलाउन ईच्छुक नभएको बताएपछि नौ बुँदे बाहेक कुनै सहमति नभएको स्पष्ट पारे। उनले प्रश्न गरे,‘भद्र सहमति भएको भए सहमति भएको १५ दिन पनि वित्न नपाउँदै सरकार ढाल्ने अभद्र खेल किन खेल्नु परेको त?’
‘छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण, मुलुकको सर्मथ्य बृद्धि, समृद्धिको लागि सरकार अघि बढिरहेको बेला सरकारको विकल्प खोज्नु उपयूक्त हुँदैन ।
यो मुलुकको समस्या भनेकै अस्थिरता हो त्यसैले अस्थिर बनाउने धेरै खेल नखेलौ’–पोख्रेलले भने ।
उनले राष्ट्रिय सहमति कायम गर्न ब्यक्तिलाई अगाडि सारेर हुन नसक्ने भएकोले एजेण्डालाई अघि सार्नु पर्ने भन्दै संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धि अहिले सहमतिको एजेण्डा बन्न सक्ने स्पष्ट पारे ।
पोख्रेलले एमाले–काग्रेस र एमाले–माओवादीको सरकारले नै आन्दोलनको अवस्था रहनु परेकोले अहिले समस्या समाधानको नाममा एक दलको विकल्प अर्को दल बन्न नसक्ने ठोकुवा गर्दै बर्तमान सरकार सबै समस्या समाधान गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन आतुर रहेको बताए।