भोटेकोसी नदी कटानले थप चार घर बगायो
असार - २६ । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ ।
शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए । तातोपानी क्षेत्रमा पानी नपरे पनि चिनियाँ भू–भागमा वर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम नरोकिएको र नदीको बहाव बढिरहेको हुँदा तातोपानीदेखि लिपिङसम्म दुई किमी क्षेत्रमा रहेका झन्डै १५० घर अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताए। बाढीबाट विस्थापितका लागि कुनै निकायबाट राहत प्राप्त भएमा समन्वयको काम गर्ने गरी आज तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठको संयोजकत्वमा सीमा प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल र नागरिक समाज सम्मिलित स्थानीय विपद व्यवस्थापन समितिको गठन भएको छ ।
बाढीले एनसेलको टावरसमेत बगाएको तथा त्यहाँ रहेको नेपाल टेलिकमको टावरलाई विद्युत् अभावले सीमा प्रहरी कार्यालयबाटै इन्धन व्यहोरेर दैनिक दुई/तीन घन्टा जेनेरेटर चालु गरी सञ्चारको वैकल्पिक व्यवस्था हुँदै आएकाले सम्बन्धित निकायले चाँडै व्यवस्था नगरेमा धेरै दिन धान्न नसकिने प्रहरी निरीक्षक भुसालले बताए । स्थानीयवासीले चार/पाँच दिनसम्म मात्र धान्न सक्ने गरी खाद्यान्नको जोहो गरेको बुझिएकाले त्यसको समेत चाँडै व्यवस्था गरिनुपर्ने प्रहरीले बताएको छ । रासस
Bhote koshi Sindhupalchik