एकीकरण गर्न राप्रपाका वार्ता टोलीबीच आठबुँदे सहमति
असार - २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण गर्ने सन्दर्भमा आज नीतिगत, सैद्धान्तिक र संरचनागत विषयमा आठबुँदे सहमति भएको छ ।
दुवै दलका वार्ता टोलीबीच भएको उक्त सहमतिले एकीकरण घोषणा गर्ने कार्यमा थप योगदान पुगेको विश्वास गरिएको छ । सहमतिपत्रमा एकीकरणपछि राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको राजनीतिक क्षितिजमा बहुदलीय प्रतिस्पर्धामा आधारित राष्ट्रवादी शक्तिका रुपमा रहने अठोट व्यक्त गरिएको छ ।
राप्रपा नेपाल संसदीय दलको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपाका महामन्त्री एवम् वार्ता टोलीका संयोजक बुद्धिमान तामाङले राष्ट्रवाद र प्रजातन्त्रमा विश्वास राख्ने दुवै पार्टीको अब ‘१० रिक्टर स्केलको भूकम्प आएपनि’ हल्लाउन नसक्ने दाबी गरे।
राप्रपा नेपालका उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक राजीव पराजुलीले पार्टी विभाजनको पीडाले एकताको प्रयासका लागि निकै मेहनत र परिपक्व बनाएकाले पार्टी एकीकरण अब सर्वसम्मत रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
आज भएको सहमति आआफ्नो दलको केन्द्रीय कमिटीबाट पारित गरेपछि आगामी साउन १० गतेभित्रमा एकता घोषणा कार्यक्रम गर्ने तयारीमा दुवै दल जुटेका छन् । पार्टी एकीकरणका लागि दुवै दलले छ महिनाअघि वार्ता टोली गठन गरेका थिए । दुवै पार्टीबीच एकीकरण भएपछि यो वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको बुझिएको छ ।
पुराना पञ्चको बाहुल्यता रहेका दुवै पार्टीमा नेपालको राजनीतिमा खारिएका नेता रहेका छन् । पार्टी एकीकरण गर्ने क्रममा एकीकृत पार्टीको नाम राप्रपा राख्ने, चुनाव चिह्न भने गाई हुने भन्नेमा सहमति नजिक रहेको बुझिएको छ ।
राप्रपा नेपालले हिन्दू धर्म र राजतन्त्रलाई आफ्नो आस्थाका रुपमा व्याख्या गर्दै आएको छ भने राप्रपाले भने गणतन्त्र र सङ्घीयता सैद्धान्तिकरुपमै स्वीकारीसकेको छ ।