४५ परिवार पहिरोको उच्च जोखिममा
असार - २७। बझाङका दुई गाविसका ४५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाको रायल गाविस–५ र ७ का २३ परिवार तथा मटेला गाविस–८ का २२ परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“रायलको ५ र ७ वडाका काटीखेती, तलुबाडी र मैतोली गाउँ र मटेला–८ को गाउँ पहिरोको जोखिममा परेका छन्,” प्रहरी नायब उपरीक्षक चन्दले भने – “गाउँको तल्लो भागमा रहेको नारुगाडबाट पहिरो झर्न थालेपछि जमिन भासिएकोे छ । यसले गर्दा नारुगाडाको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका हुन् ।”
यसका साथै गाउँको माथिल्लो भागबाट समेत पहिरो झर्ने गरेकाले झनै जोखिम बढेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । ग्रामीण सडक बनाउने नाममा बस्तीको ख्यालै नगरी निर्माण कार्य गरिएकाले यहाँ बर्सेनि पहिरो जाने गरेको हो । रासस