एमाले नेताकी माओवादी छोरीः फर्केर हेर्दा पार्वतीको आफ्नै जिन्दगी
कर्णबहादुर थापा ०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट जारकोट ढिमे गाविसको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए । घरमा उनी सरुवाबढुवा, जागिर र टिकटका बिषयमा बुबा गफिरहेका हुन्थे । अर्कोतर्फ उनकी छोरी पार्वतीको विद्यालयमा माओवादीहरु आइरहन्थे र क्रान्तिको कुरा गर्थे । ‘शासकहरुकै सेवा गर्ने यो संसदीय व्यवस्थाले आम जनतालाई मुक्ति दिदैंन । मुठीभर व्यक्तिको रक्षा गर्ने संसदीय व्यस्थाका विरुद्ध बन्दुक नउठाइ हुंदैन ।’ यस्ता कुराले पार्वतीलाई जुरुक्जुरुक बनाउंथ्यो । घरकै वातावरणले संसदीय राजनीतिको चरित्र कस्तो हुन्छ भन्ने उनले बुझिसकेकी थिइन् । माओवादीका क्रान्तिकारी नाराले उनलाई तान्दै लग्यो । बुबासंग उनी बिचारका कारण टाढा हुंदै गइन ।
माओवादीसंग नजिकिएको थाह पाएपछि कर्णले उनको विहे गरिदिने सोच बनाए । छिमेकी केटासंग मगनीको सुरसार भयो । उनले जिन्दगी विवाहमा बन्दकी नराख्ने निर्णय गरिन् । उनले बुबासंग बिद्रोह गरिन । बिबाहको प्रस्ताव अस्विकृत भयो ।
घर नजिकै चौकी थियो । बुबाको ठांट राम्रै थियो । प्रहरी उनको घरमा आइरहन्थे । माओवादी द्वन्द्व चर्किएको थियो । माओवादीका नाममा पाँचकाटीया प्रहरी चौकीको ज्यादती सहिनसक्नु थियो । चौकीले केहीको ज्यान लिइसकेको थियो । चौकीमा ल्याएर निर्दोषहरुको समेत रामधुलाइ भएको उनले नजिकबाट देखेकी थिइन । उनी भुमिगत भइसकेकी थिइनन् । माओवादी विद्यार्थी संगठनमा आबद्ध भने भएकी थिइन । भिनाजु मोतीराम मल्ल पार्टी राजनीतिमा सक्रिय थिए । भिनाजुले उनलाई मुक्तिको बाटो यहीं हो भन्दै हौस्याउंथे । प्रहरी बुबालाई भेट्ने निहुंमा घर आइरहन्थ्यो । खाशमा उसको स्वार्थ बेग्लै थियो । पार्बतीमाथि निगरानी राख्नु थियो ।
एमाले नेताकी छोरी माओबादी, त्यसमाथि प्रहरी खोरमा
माओबादीले चर्को रुप लिइसकेको थियो । उनको घरमा पुलिसको आउजाउ भइरहन्थ्यो । उनको मनमा चिसो पस्न थालिसकेको थियो ः ममाथि निगरानी भइरहेको त छैन ? उनको मनले खाएकी साथी थिइन बसुन्धरा थापा आशा । एकदिन पार्वती थापा बसुन्धराकै घरमा सुतिरहेकी थिइन् । प्रहरीले दम्दाला जिउलामा रहेको घर घेरा हालेर उनीहरुलाई पक्राउ गर्यो । पांचकटिया प्रहरी चौकीमा लगेपछि उनीहरुलाई चर्को यातना दिइयो । बुबाले पनि उनलाई हिरासत मुक्त गर्न पहल गरेनन् । केही समय हिरासतमा बसोस् र माओवादीबाट टाढियोस् भन्ने बुबाको चाहना प्रष्ट देखिन्थ्यो । प्रहरीले उनीमाथि अनेक आरोप लगाउंदै मुद्धा बल्झाउंदै लग्यो ।
जव बुवासंग जम्का भेट भयो
उनलाई पांचकटियाबाट खलंगा लैजाने तयारी भयो । आमाले सो कुराको सुइंको पाएपछि मन थाम्न सकिनन् । उनले आंखाभरि आंशु झारेर छोरीलाई छोडिदिन आग्रह गरिन् । तर, प्रहरीले आमाको कुरा सुनेन । खलंगा लैजादै गर्दा उनलाई उनका गुरु पृर्थी बहादुर खत्रिले ५०० हातमा हालिदिए । सो रकमले उनको मनमा गहिरो छाप छाड्यो । बाले वेवास्था गरेपनि गुरुबाले गरेको माया मनमा कुरा खेलिरह्यो । बुवा स्थानीय निकायको निर्वाचनको टिकट लिन सदरमुकाम गएका थिए । उनी जिल्लाका भीआइपी थिए । उनको सुरक्षार्थ प्रहरी निरीक्षकको नेतृत्वमा १२ प्रहरी खटिएका थिए । अर्कोतर्फ उनकै छोरीलाई प्रहरीले गिरफ्तार गरी हातमा हतकडी र आंखामा पट्टी बांधेर खलंगातिर लगिरहेको थियो । छोरीसंग बुबाको जम्काभेट भयो । बुबा निशब्द थिए । छोरीको त्यो अवस्था देखेर उनी झस्किए । कतै छोरीलाई केही हुने त होइन भन्ने चिन्ता व्यक्त गरिरहेका थिए । बुबा प्रहरी सुरक्षाको घेरामा छोरी प्रहरीको हतकडीमा एक साथ भेटिदाको त्यो क्षण चलचित्रको दृश्यजस्तो लाग्थ्यो ।
हिरासतमा सात महिने गर्भे तारा
सदरमुकामको हिरासत अझ बढी डरलाग्दो थियो । केरकारका नाममा दिइने यातनाका कारण वरपरको वातावरण चित्कारले थर्किन्थ्यो । ‘म सात महिनाकी गर्भे हुं, मेरो पेटको बच्चालाई जन्मन देआओ । त्यसपछि मलाई जे गर्नुछ गर । यसलाई नमार ।’ चिनेको स्वर पार्वतीको कानमा ठोक्कियो । गर्भे महिलामाथि यस्तो यातना † पार्वतीलाई असह्य भयो । उनको शरीरमा कांडा उम्रिएर आयो ।
छिमेकी गाउकी तारा रहिछन् गर्भे बन्दी । महिला त्यसमाथि चिनिराखेकी तारा † पार्वतीले मन थाम्न सकिनन् । उनी चिच्चाइन्, ‘असत्ति हो तिमीहरुको घरमा दिदीबहिनी छैनन् । एउटी गर्भे महिलामाथि यस्तो यातना ? पशुलेपनि यस्तो गर्दैन ।’ पार्वतीले प्रतिकार गरिन् । नरभंक्षी सिंह झैं प्रहरीहरु पार्वतीमाथि जाइलागे । सिस्नुपानीले यौनाङ्गमा हान्न थाले । बन्दुकको कुन्दाले संवेदनशील ठाउमा कोप्न थाले । हातका नङमा पनि ठोक्न थाले । त्यसपछि के भयो उनलाई थाहा छैन । उनी बेहोश भइन् । हल्ला चल्यो पार्वती मारिई । एक कान दुई कान मैदान हुंदै यो खबर पांचकटियासम्म पुग्यो । घरमा रुवावासी चल्यो ।
बुबाको बलमा छुटिन्
पार्बती माओवादीबाट अलग होस भन्ने कर्णको चाहना थियो । तर, छोरी जिन्दगीबाटै अलग हुने स्थिति निम्तियो । कर्णले छोरीलाई तत्काल नछाडे आफुले गाविस अध्यक्षको टिकट फिर्ता गर्ने र भुमिगत हुने चेतावनी दिए । गाउघरमा राम्रै प्रभाव भएका उनको चेतावनीले जिल्लाको सुरक्षा र राजनीतिक नेतृत्वलाई गम्भीर हुन बाध्य बनायो । पार्वती हिरासतमुक्त भइन् ।
पार्वतीको खुट्टा सुनिएर हात्तीपाइले रोग लागेजस्तो भएको थियो । हिड्नपनि सक्दिनथिन् । धरमराउथिन् । उनका बाबुले तागतले उनी घर फर्कन सकिनन् । तर, गर्भे तारा हिरासतमै यातना खाएर बसिरहेकी थिइन् । उनी घर फर्केपछि पनि ताराकै चित्कार उनको कानमा गुन्जिरहन्थ्यो । उनी एकतमासले टोलाइरहन्थिन । बाबा गन्यमान्ने नेता भएपनि आफुमाथि अन्याय भएको कुराले उनलाई झन बिंझाउंथ्यो । राज्यले चाह्यो भने जेपनि हुंदो रहेछ । यस्तो राज्यसत्ता परिवर्तन नगरी हुंदैन । उनको मनमा झनै जोडले हुरी मच्चिन थाल्यो । शरीर केही तंग्रिएपछि उनी भुमिगत भइन ।
प्रश्नैप्रश्नको चाङमा पार्वती
कलिलो अबस्थामा माओवादी राजनीति र भुमिगत जीबन थालेकी जाजरकोटकी पार्वती थापा आफुलाई आस्था भन्न रुचाँउछिन । आस्थाकै कारण उनी बुबाबाट टाढा भएकी थिइन । मृत्युयात्रा पार गरेकी उनी अहिले जम्बो माओवादी केन्द्रकी सदस्य छिन । उनी पद र पैसाका लागि राजनीतिमा लागेकी थिइनन् । त्यसो हुंदो हो त उनी बुबाकै छत्रछांयामा एमालेको नेता हुने अवसर छाडेर माओवादी किन बन्थिन् र ?
अहिले माओवादी केन्द्र र एमालेका बीचमा खाशै फरक केही छैन । एमाले माओवादीभन्दा व्यवस्थित र संगठित छ । क्रान्तिकारी भनिएको माओवादीमा केन्द्रदेखि तलसम्म भद्रगोल छ । पार्टीले क्रान्तिकारी कार्यदिशापनि लिन सकेको छैन, कार्यकर्ताको संरक्षणपनि गर्न सकेको छैन । अध्यक्ष प्रचण्ड बेलाबेलामा एमालेसंग पार्टी एकता गर्न सकिने भन्दै भाषण गर्छन । आस्थाका कारण एमालेको छहारी छाडेर मृत्युपथ रोजेर माओवादी भएकी पार्वतीको मस्तिष्कमा यक्ष प्रश्न तेर्सिन्छ, ‘हिजो बुबालाई तड्पाएर माओवादी भएकी म आज बुबाकै पार्टी एमालेमा किन एकीकृत हुने ?’
प्रस्तुतिः भौतिक मल्ल
Pabitra