ताजा खबर News

धोकाधडीको एमाले–माओवादी सम्बन्ध

धोकाधडीको एमाले–माओवादी सम्बन्ध

122

एमाले र माओवादी नेपालका कम्युनिष्ट आन्दोलनका दुई धार हुन् । एकै व्यक्तिका दुई श्रीमती अर्थात सौताजस्तो सम्बन्ध यि दुई दलका बीचमा रहदै आएको छ । बीचबीचमा हुंने मिलन चौतारीमा लिइएको विसौनीमात्र हो ।

एमाले देशको जबरजस्त पार्टी थियो माओवादीले सशस्त्र संर्घष थाल्दा । एमाले क्रमशः खिइंदै गयो । एमाले दुब्लाउंदै जांदा माओवादी मोटाउंदै गयो । माधब नेपालको समन्वयकारी भुमिका कारण माओवादी र कांग्रेसका बीचमा समझदारी भयो । र, शान्ति प्रक्रिया शुरु भयो । पहिलो संविधानसभामा माओवादी भीमकाय पार्टी बन्यो । एमाले नराम्रोसंग खुम्चियो । माधब नेपालले पार्टी महासचिवबाट राजिनामा गरे । दुबै ठाऊंमा पराजित भएका नेपालको राजनीतिक भविस्य चौतर्फी प्रश्न उठ्यो ।

समन्वकारी नेता नेपालका लागि शिलत निवासको आश देखाइयो । एमाले र माओवादीका बीचमा माधब नेपाललाई राष्ट्रपति बनाउने सहमति भयो । तर, सत्ता कब्जाको दिवा सपनासहित शान्तिप्रक्रियामा आएको माओवादीले माधबलाई खतराका रुपमा देख्यो र सहमतिबाट बाहिरियो । नाटकीयरुपमा राष्ट्रपतिको चिठ्ठा कांग्रेसलाई पर्यो । एमालेले संसदीय राजनीति बुझेको थियो । सरकारमा सहभागी नभए कार्यकर्ता पलायन हुंने स्थितिपनि थियो । माओवादीको जग्जगीका बीचमा कार्यकर्ता जोगाउनपनि ऊ सरकारमा सहभागी हुनैपर्ने भयो । उसले जनमतको कदर गर्दै माओवादी नेतृत्वमा सरकार बनाउने निर्णय गर्यो । प्रचण्ड प्रधानमन्त्री भए ।

प्रचण्डले एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल र महासचिवकै सल्लाहमा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने तयारी गरे । जब उनलाई बर्खास्तीको पत्र थमाइयो, झलनाथ खनालले एक नम्बरमा हस्ताक्षर गर्दै उनको थमौतिका लागि संवैधानिक राष्ट्रपतिसंग बिन्ति बिसाए । प्रचण्ड सिंहदरबारबाट स्वच्छिक तर बाध्यात्मक बर्हिगमनमा परे । माधब नेपालजस्तै धोकाधडीको घानमा परे प्रचण्ड ।

माधब नेपाल संविधान निर्माणका लागि नभइ नहुंने पात्र रहेछन् । तर, माओवादीले उनलाई दुबै ठाऊंबाट हराएको थियो । प्रचण्डकै आग्रहमा उनी समानुपातिक कोटाबाट सभासद् भए । संवैधानिक समितिको सभापति बनाइए । दुई दुई ठाऊंबाट हारेको व्यक्तिलाई संविधान लेखनको नेतृत्व दिएको भन्दै माओवादीकी तत्कालिन सभासद् सरला रेग्मीले मतदान बहिष्कार गरेकी थिइन् । प्रचण्डको राजिनामापछि माधव नेपाल प्रधानमन्त्री बने । आफुले राजिनामा दिएपछि माधब नेपाल त्यसरी अग्रदस्ता भएर माओवादीसंग जुध्न आउंलान भन्ने प्रचण्डले सोचेकै थिएनन् । तर, राजनीतिको बाघचाल राजनीतिका बाघ प्रचण्डले नै बुझ्न सकेनन् । सिंह गिरिजाप्रसाद कोइराला जिवितै जो थिए ।

माओवादीले जुन संघीय अवधाराणा प्रस्ताव गरेको थियो, त्यसैको फोटोकपीजस्तो ढांचा एमालेले अघि सारेको थियो । विचारमा एकरुपता भएको भन्दै प्रचण्डले झलनाथ खनालको नेतृत्वमा सरकार बनाइदिए । गोप्य सात बुंदे सहमति भएको रहेछ । खनाल सात बुंदेमा टिकिरहन सकेनन् । राजनीतिक बाजी मारेको ठानेका प्रचण्डका लागि खनाल निष्प्रभावी देखिए । पार्टीभित्र केपी ओली प्रभावशाली बन्दै गएका थिए ।

घटनाक्रमले संविधानसभा खाइदियो । दोस्रो निर्वाचनमा माओवादी रसातलमा पुग्यो । एमालेको आकार आकाशियो । को मूलधारको कम्युनिष्ट पार्टी बन्ने भन्ने होडबाजीमा एमालेले विजय हाशिल गर्यो । एमालेमा ओली इपि सेन्टर बन्दै गए । संसदीय दलको नेतादेखि पार्टी अध्यक्षसम्म ओली नै निर्वाचित भए । ओली र प्रचण्डको कटु सम्बन्धले संविधान निर्माण आंशकाको घेरामा पर्यो । ओली पेल्न खोज्ने प्रचण्ड पेलिएको महशुश भए प्रतिकार गरिहाल्ने स्थितिका कारण प्रमुख पार्टीको बैठक सौहार्द हुंन सक्दैनथ्यो ।

भुइचालोले देश तहसनहस भयो । तर, राजनीतिमा सकारात्मक महाधक्का लाग्यो । आफैंले पागल घोषणा गरेका ओलीलाई प्रचण्ड प्रधानमन्त्री बनाउन तयार भए । पुष्पकमल दाहालमात्र भन्ने ओली प्रचण्ड भन्ने मुडमा पुगे । राजनीतिमा असम्भव सम्भव भयो । प्रचण्डकै कांधमा चढेर ओली प्रधानमन्त्री भए ।

सरकारमा सहभागी भएपनि माओवादीमाथि युद्धकालिन मुद्धा लाग्नेक्रम रोकिएन । काखमा राखेर आफुहरुलाई हेगमा पुर्याउने षडयन्त्र हुन थालेको प्रचण्डले ठहर गरे । ओली निकट कानून व्यवसायी प्रचण्ड र माओवादीविरुद्ध सक्रिय देखिन थाले । त्यहीं मेसोमा शेरबहादुर देउवा कांग्रेसको सभापति निर्वाचित भए । तीन पटक सत्ताको नेतृत्व गरिसकेका देउवाले प्रचण्डलाई अघि नसारेसम्म आफ्नो पालो नआउने बुझिसकेका थिए । उनले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । प्रचण्ड हौसिए ।

ओलीका सामू संकट पैदा भयो । बजेटको सम्मुखमा सिंहदरबार छाड्नु उनको लागि उचित थिएन । ओलीले बजेटपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफुपनि सहमत रहेको जवाफ दिए । एमाले र माओवादीका बीचमा ९ बुंदे सहमति भयो । युद्धकालिन मुद्धा फिर्ता लिने, युद्धकालिन जग्गाको विवाद सुल्झाउने लगायतका महत्वपूर्ण सहमति भयो । ओली कहिल्यै तयार नभएका विषयमा समेत सम्झौता गर्न बाध्य भए । एमाले नेताले नै बजेटपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति दिए । द्वन्दकालिन मुद्धाका बारेमा पनि केही भएन ।

हुंदाहुंदा प्रचण्डका विरुद्धमा अष्ट्रेलियामा उजुरी हालियो । अष्ट्रेलिया उड्नुभन्दा केही घण्टाअघिमात्र उनको भ्रमण स्थगित गर्न प्रचण्ड बाध्य भए । उडे परिणाम जेपनि हुनसक्ने सूचना उनलाई ओलीका दाहिने हात मानिने कानूनमन्त्री अग्नी खरेलले दिएका थिए । ओलीले ०७४ साल माघसम्म यही सरकार टिक्ने भन्दै भाषण गर्न थाले । सरकार हेरफेरको सहमति देखाउन उनले प्रचण्डलाई चुनौति दिए । कांग्रेसले भद्र सहमति तोडेको भन्दै उसलाई भरपर्दो पार्टी बन्न महाधिवेशनका बेला सुझाब दिने ओली आफैंले भद्र सहमति तोडेको आरोप लाग्यो ।

झण्डै २ महिनाको राजनीतिक उतारचढावपछि राजनीतिको नयां खेल शुरु भएको छ । ओली अल्पमतमा परेका छन् । तर, प्रचण्ड प्रधानमन्त्री बन्छन् भन्ने एकीन छैन । अब के हुन्छ ? भन्न सकिदैन । यत्ति भन्न सकिन्छः ओली र प्रचण्डको जुहारी अब फेरी सार्वजनिकरुपमा देखिनेछ । ओलीले अनेक उखानमार्फत प्रचण्डको उछितो काढ्ने छन् । प्रचण्ड आक्रामकरुपमा प्रतिउत्तर फर्काउनेछन् । धोकाधडीमै एमाले माओवादी सम्बन्ध अघि बढिरहेको छ ।

dolidar Oli Prachanda

विशेष