सरकार शैक्षिक उत्थानका लागि प्रयत्नशील छ– प्रधानमन्त्री ओली
असार - २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको आधारस्तम्भ नै शिक्षा भएकाले सरकार शैक्षिक उत्थानका लागि प्रयत्नशील रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक बैठकलाई सम्बोधन गर्दै त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै प्राविधिक शिक्षामा विशेष प्राथमिकता दिन विश्वविद्यालयलाई सुझाव दिए ।
प्रधानमन्त्री ओलीले प्रभावकारी शिक्षाबिना मुलुकले विकासमा फड्को मार्न नसक्ने र परनिर्भरता पनि नघट्ने हुँदा विश्वविद्यालयले प्रभावकारी शिक्षा दिनेतर्फ ध्यान दिनुपर्ने बताए ।
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले हाल त्रिविले सेमेस्टर प्रणाली लागू गरेको भन्दै त्यसलाई व्यवस्थित र विस्तार गर्ने योजना रहेको समेत जानकारी गराए । उनले हाल बहुविश्वविद्यालयको स्थापना र सञ्चालन भए पनि देशभरका विद्यार्थीको गन्तव्य त्रिवि नै बनेको बताउँदै ५६ वर्षदेखि स्वदेशी तथा विदेशी विद्यार्थीलाई समेत ज्ञान–विज्ञान तथा प्राविधिक क्षेत्रमा उच्च शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिए । बैठकमा ५४औँ ग्रेस लिष्टमा परेका ८३ हजार ४२५ विद्यार्थीले आगामी पुस महिनामा हुने दीक्षान्त समारोहमा भाग लिन पाउने जानकारी गराइयो । यस ग्रेस लिष्टअन्तर्गत २०७२ जेठ १८ देखि २०७३ असार १ गतेसम्ममा विभिन्न अध्ययन संस्थानबाट उत्तीर्ण विद्यार्थी परेका छन् ।
त्रिविले आफ्नो परिसरलाई वाइफाइ जोन घोषणा गर्नुका साथै इ–लर्निङका लागि प्राविधिक कक्षाकोठा र स्मार्ट बोर्डको सुरुवात गरिसकेको छ । उक्त सभामा विभिन्न विधामा शोधअध्ययन गरेबापत उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।