ताजा खबर News

पूर्व मन्त्रीहरुलाई डेरासर्न चटारो

पूर्व मन्त्रीहरुलाई डेरासर्न चटारो

mantri

असार ३० नौ महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित क्वाटरमा बस्दै आएका माओवादी मन्त्रीका सहयोगी बुधबार दिनभर व्यक्त भए । मन्त्रीक्वाटरबाट सरसामान सार्नुपर्ने भएपछि कोही पोखापन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पद खोसिएपछि माओवादीका कोही मन्त्री डेरा सरिसके भने अधिकांश सर्ने तयारी गर्दैछन् । नेकपा माओवादी केन्द्रबाट गत असोज २४ गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सात जना मन्त्री बनेका थिए । बुधबार प्रधानमन्त्री ओलीसमक्ष सामुहिक राजिनामा बुझाएका माओवादी मन्त्रीलाई डेरा सर्ने चटारो भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्य मन्त्री गणेशमान पुनले त मंगलबारै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदा भएका छन् । बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्री क्वाटरबाट पोकापन्तरा बाँधेर पुरानै डेरा भैंसेपाटीमा सरे ।

वन मन्त्री अग्नीप्रसाद सापकोटाले बुधबार मन्त्री क्वाटर छाडेपनि उनी कौशलटारस्थित भतिजाको डेरामा बस्ने भएका छन् । उनको पुरानो डेरा तीनकुने सुविधानगरमा भोलीमात्रै सर्ने जानकारी उनका सहयोगी युवराज दुलालले दिए । उनले मन्त्री भएबापत सुविधा पाएको गाडी समेत फिर्ता गरिसकेका छन् । कृषीमन्त्री हरिबोल गजुरेलले भने बिहिबार मात्रै पुल्चोक क्वाटर छाड्ने तयारी गरेका छन् । उनका सहयोगी रमेश गुरागाईले पार्टीको आन्तरिक मिटिङ र नयाँं सरकारको तयारी छलफलका कारण मन्त्री व्यस्त भएकाले बुधबार सरसमानको पोका बाध्ने काम मात्रै भएको जानकारी दिए । गजुरेल कालोपुलमा बस्दै आएका थिए ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पनि बिहीबार मात्रै पुल्चोक क्वाटर छाड्ने तयारीमा छन् । ‘आज पार्टीको कामले भ्याइएन, समानको ताँजोपाजो मिलाउने काम भइरहेको छ, मन्त्रीका सहयोगी जागृत रायमाझीले भने । पोखरेल पुरानो डेरा सिनामंगलमै सर्ने भएका छन् । सामान्य प्रशासन मन्त्री रेखा शर्मा बुधबार साँझ मन्त्रालयबाट विदाइ भइन् । पुल्चोकस्थित क्वाटर नजिकै डेरामा बस्दै आएकी शर्माले बिहिबार डेरा सर्ने भएकी छिन् । क्वाटरमा भने सामान मिलाउने र पोकापन्तरा बाध्नमा उनका सहयोगी व्यस्त देखिन्थे । ‘

सधैं मन्त्री भइने पनि होइन, अब को आउँछ को बस्छ ? सामान त सारिदिनै पर्यो, पुल्चोकस्थित क्वाटरमा यसरी नै सामानको चाँजोपाजो गर्नेमा भनाभन चलिरहेको थियो । सिंचाई मन्त्री उमेश यादवलाई भने तत्काल डेरा सर्न समस्या देखिएको छ । उनी पहिला बस्दै आएको कोटेश्वरस्थित घरका मालिकले घर बेचिदिएपछी नयाँ डेरा खोज्नुपर्ने अवस्था आएको उनका सहयोगी मातृकका भट्टराईले जानकारी दिए । उनले भने,‘पहिलाको घरबेटी घर बेचिदिएछन, अब नयाँ डेरा खोज्नुपर्ने भयो, एक दुई दिन लाग्ने भयो ।’

आपूर्तिमन्त्री पुनको पनि पहिला बसेको डेरामा बहिनी बसेकाले उनले सरसमान उतै राख्ने भएका छन् । ‘सरसमान पोका बनाइएपनि पहिला बसेको डेरामा बहिनी बसेकाले अब अर्को नयाँ डेरा खोज्नुपर्ने भयो, बिहीबार सरिन्छ होला’, मन्त्रीका पिए अर्जुन पाठकले भने । अन्नपूर्ण पोष्ट

Man Mohan Adhikari Mantri Maosist

विशेष