अपराध सुरक्षा ताजा खबर News समाज

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि जेल हाल्ने देउवाको यस्तो छ दाउ, आयोगमा परेका ५१ हजार उजुरीको नालीबेली

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि जेल हाल्ने देउवाको यस्तो छ दाउ, आयोगमा परेका ५१ हजार उजुरीको नालीबेली
prachanda-deuwa-nepalaaja २०५८ माघ ३ गते दिउँसो १ बजेतिर मुक्तिनाथ अधिकारी कक्षा ९ मा विज्ञान पढाउँदै थिए । त्यति नै बेला माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर अधिकारीलाई बाहिर लगे । सशंकित विद्यार्थीले सरलाई छाडिदिन आग्रह गरे तर माओवादीले मान्दै मानेनन् । उनलाई गाउँको गोरेटो बाटो हुँदै आधा घण्टा हिडाएर बारीको कान्लामा लिएर गए । गाउँको उकालोमा पुर्याएपछि उनीहरूले अधिकारीलाई बन्दुक सोझ्याइसकेका थिए । तर गाउँका महिलाहरुलाई देखेपछि उनीहरू केही हच्किए । अधिकारीलाई सरासर डाँडामा लिएर गए । अनि एउटा रुख छेउ रोकिए । अधिकारीकै गलबन्दीको पासो हालेर उनलाई अँठ्याउँदै रुखमा कसे । अनि, गोली ठोके । त्यतिले पनि चित्त नबुझेर छुरा रोपे । मुखमा बुजो कोचिएकाले अधिकारीको चित्कार गाउँसम्म पुग्न पाएन । उनको माओबादीद्वारा हत्या भयो । यस्तो घटना द्वन्द्वकालमा धेरै भए । कति माओवादीबाट पीडित बनाइए, कोही सेना तथा सरकार पक्षबाट पीडित भए । त्यसको छानविन गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन ग-यो । मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी १५ बर्ष यता न्यायका लागि धाइरहेका थिए । तर, उनले न्यायको नामोनिशाना भेटेनन् । यस्तैमा सत्यनिरुपण तथा मेलमिलाप आयोगले उजुरीको आह्वान ग-यो । उनले आयोगमा उजुरी दिइसकेका छन् । आयोगमा उनीजस्तै द्वन्द्वपीडितको उजुरीको चाङ नै लागेको छ । के हो सत्य निरुपण तथा मेलमिलाप आयोग ? बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भएको हो । नेपाल सरकार, मन्त्रीपरिषदको निर्णयबाट २०७१ माघ २७ गते ५ सदस्यीय आयोगको गठन भएको हो । आयोगको अध्यक्षमा सूर्यकिरण गुरुङ्ग रहेका छन । सदस्यहरु लिला उदासी खनाल, श्रीकृष्ण सुवेदी, डा. माधवी भट्ट पराजुली, मञ्चला कुमारी झा रहेका छन । आयोगको सचिवमा डा. नरेन्द्रमान श्रेष्ठ नियुक्त भएका थिए । आयोगले कस्ता घटनाको छानबिन गर्छ २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालिन नेपाल कम्युनिट पार्टी (माओवादी) बीचमा भएका युद्धसँग सम्बन्धित घटनाको आयोगले छानबिन गर्छ । मानवता विरुद्धको अपराधसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य सार्वजानिक गर्ने कार्यादेश आयोगलाई दिइएको छ । के काम हुदैछ ? सत्य निरुपण तथा मेलमिलाप आयोगले धमाधम द्वन्द्वकालका घटनाको उजुरी लिइरहेको छ । आयोगमा द्वन्द्वकालका विभिन्न घटनाहरु, यौन शोषण तथा दुरव्यवहार, कुटपिट र गम्भीर प्रकारका मानवअधिकार उजुरीको चाङ नै लागेको छ । आयोगले उजुरीको लागि ०७३ साल बैशाख ५ गतेदेखि असार २ गतेसम्मको समय तोकेको थियो । पीडित पक्षबाट उजुरी संकलनका लागि म्याद थप गर्न माग भएपछि आयोगले असार २९ सम्म म्याद थप गरेको हो । अहिले म्याद साउन २ सम्म पुगेको छ । कति भए उजुरी दर्ता सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिनहुँ जसो उजुरी दर्ता भईरहेका छन् । उजुरी दर्ता गर्ने म्याद साउन २ गतेसम्म रहेको छ । उजुरीको म्याद सकिन ४ दिन बाँकी रहँदा ५१ हजार ७ सय १० जनाको उजुरी दर्ता भईसकेका छन् । अझै समय बाँकी रहेकाले उजुरी बढ्ने देखिएको छ । उजुरी कस्ता कस्ता फणिन्द्र लुइँटेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध आयोगमा उजुरी दर्ता गराएका छन् । ओखलढुंगाको ज्ञानप्रकाश मावि घोराखोरीका तत्कालीन शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरेको आरोपमा प्रचण्डमाथि कारवाहीको माग गर्दै उनले उजुरी दिएका हुन् । द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका माओवादी केन्द्रका नेता कृष्ण केसीले आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिरुद्ध आयोगमा उजुरी दिएका छन् । शान्ति समिति डडेल्धुरामार्फत आयोगमा प्रचण्डविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको थियो । द्वन्द्वकालको विभिन्न घटनाहरुको छानबिन गर्न पीडितहरुले एकल तथा सामूहिक रुपमा उजुरी दिएका छन् । उजुरी दर्ता गर्नेमा आर्मी, पुलिसका उच्च दर्जाको अधिकृत लगायत भुतपूर्व मन्त्री तथा प्रधानमन्त्रीहरु समेत रहेका छन । अर्कोतर्फ उनीहरुकै विरुद्ध पनि उजुरी परेको छ । कानुनमा के छ सर्वोच्च अदालतले २०७२ साल फागुन १४ गते गरेको फैसलामा गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा क्षमादान दिन मिल्दैन भनिएको छ । अपहरण, बलात्कार, व्यक्ति हत्या, शारीरिक र मानसिक यातना गम्भीर मावनअधिकार उल्लङ्घनका घटनामा पर्दछन । उजुरी हेर्दा प्राय घटनाहरु गम्भीर मानवअधिकार उल्लङघनका छन । सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि गम्भीर मावनअधिकार उल्लङ्घनका घटनालाई क्षमादान नदिने जनाइसकेको छ । यस्ता अभियोजनका व्यक्तिलाई कारबाहीका लागि सिफारिस गर्ने आयोगको तयारी छ । के भन्छन पीडित देब बहादुर मर्हजनलाई सेनाले अपहरण गरेर १३ बर्ष अघि यातना दियो । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी उजुरीमा जगदल गणका तत्कालिन मेजर जीजगं ठाकुर, तत्कालिन सरकार र संसदलाई बिपक्षी बनाएर उजुरी दिएका छन् । उनलाई आयोगप्रति भर छैन । पीडक–पीडक मिलेर बनाएको आयोगले पीडितको पीडा नबुझ्ने उनको ठहर छ । किनकी उनलाई आयोगको स्वतन्त्रता प्रति शंका छ । माओवादीले लमजुङमा मारेका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी र उनको परिवारले पनि आयोगमा उजुरी दिएका छन् । तर उनलाई पनि आयागकोे भर छैन । उनी भन्छन् ‘राजनितिक दल तथा सरकारले न त अदालतको कुरा सुने न त पीडितको पीडा बुझे । अनुसन्धान भएमा आफैं परिन्छ भन्ने डर नेताहरुमा छ । त्यसैले आयोगको पनि भर छैन ।’ अधिकारीले माओवादी जिल्ला नेता देवेन्द्र पौडेल, धु्रव अधिकारी, प्रभु घिमिरेसहित १२ जनाविरुद्ध उनीहरुले किटानी उजुरी दिएका छन् । सुमनलाई आयोग स्वतन्त्र छैन भन्ने लागेको छ । उनलाई आयोगले छानबिन गर्ला, सत्य पत्ता लगाउला भन्ने लाग्दैन । आयोग झारा टार्ने नियतले बनेको उनको आरोप छ । देवी खड्का नेकपा माओवादीकी पूर्व सांसद हुन । द्वन्द्वकालमा उनलाई सेनाको व्यारेकमा सामुहिक बलत्कार गरिएको थियो । उनले पनि आयोगमा गोप्य उजुरी दिएकी छिन । सबै पीडितलाई आयोगले न्याय नदिने उनको भनाई रहेको छ । सबै पीडितलाई आयोगले न्याय दिन थालेमा देशमा फेरि युद्ध सुरु हुने उनको भनाई रहेको छ । उनी भन्छिन ‘आयोगले पीडितलाई न्यायभन्दा पनि संरक्षण दिनुपर्छ, कारबाही प्रक्रिया अगाडि बढाएमा देशमा फेरि संकट उत्पन्न हुन्छ ।’ प्रस्तुति : सागर बुढाथोकी 

र, यो पनि 

निर्दोष देबबहादुर १० महिना यातनागृहमा बस्दा ……..

‘बम’ राखिएको शब कुर्दै गाउंवासी डांडामा रात बिताउन बाध्य भए, युद्धको त्यो कालरात्री !

अझ रहस्यमय बन्दै टिकबहादुरको मृत्यु

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

गेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)

dwandwa kal Pushpa Kamal Dahal puspa kamal dahal Sher Bahadur Deuba

विशेष