
#iamwithkpoli (आइएमविथकेपीओली) का नाममा भएको भनिएको स्वतन्त्र जुलुशको आयोजना युवा संघ नेपाल र अनेरास्वियूले गरेको रहस्य खुलेको छ । प्रधानमन्त्री केपी ओलीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै युवा संघ र अनेरास्वियूले यस्तो योजना बनाएका थिए । सोही योजनाअनुसार कार्यकर्ता परिचालन गरिएको थियो ।

कार्यक्रम गर्नका लागि संयोजनकारी भुमिका निर्वाह गरेका थिए पूर्वअध्यक्ष महेश बस्नेत र प्रधानमन्त्रीकी जनसम्पर्क प्रमुख निरु पालले । फिल्ड कमाण्ड गरेका थिए युवा संघका संयोजक राजिब पहारी र अनेरास्वियूकी अध्यक्ष नविना लामाले । २ दिन अघिदेखि युवा संघ र अनेरास्वियूअावद्ध नेता कार्यकर्ताले राष्ट्रिय झण्डासहित कार्यक्रममा आउनका लागि फेसबुकमा अपिल हालेका थिए । भित्रभित्रै टिसर्ट प्रिन्ट गरियो । माइतिघरमा जम्मा भएका अधिकांश युवा संघ र अनेरास्वियूआवद्ध थिए । ओलीलाई मन पराउने केही स्वतस्फुर्त जुलुश भएको भन्दै सहभागी थिए ।

कार्यक्रममा सहभागी भएपछि युवा संघ र अनेरास्वियूअावद्ध नेताहरुले ओलीको पक्षमा स्वतस्फुर्त हजारौ जनता सडकमा उर्लिएको भन्दै आ-आफ्नै फोटो पोष्ट गरेका छन् । संयोजक राजिब पहारी, उपसंयोजक रमेश पौडेल, रमेशकी श्रीमती एंव युवा संघकी नेतृ बिनु बज्रचार्य, निवर्तमान सचिव अशोक चन्द, सचिवालय सदस्य सरस्वती खड्का, केन्द्रीय नेताहरु समुन्द्र तिमिल्सेना, सुमित्रा थापा, मुना शर्मा, शान्ता राई, राजन थापा, अनेरास्वियूकी अध्यक्ष नविना लामा, महासचिव एेन महरलगायतकाले स्वतन्त्रको भेषमा ओलीको पक्षमा जुलुश गरेका हुन् ।

जुलुशमा कुख्यात डन गणेश लामाका भाइ अमित लामा पनि छन् । युवा संघका केन्द्रीय टिममा रहेका अमित सेतो सट लगाएर राजिब पहारीसँगै उभिएका देखिन्छन् । जुलुश आयोजना गर्न र भेस्टका लागि ठूलै रकम लागेको बताइएको छ ।

युवा संघको शैली रोचक छ । युवा संघआवद्ध केहीलाई ओलीका पक्षमा स्टाटस लेख्न र उनका विरोधीको खोइरो खन्न परिचालन गरिएको छ । सो कुराको खुलासा यसअघि एमाले वरिष्ठ नेता माधब नेपालले एक टेलिभिजन कार्यक्रममा गरिदिएका थिए । ओलीका पक्षमा लगातार स्टाटस लेख्ने र अरुको विरोधमा तथानाम लेख्ने केहीको सूची नेपालआजलाई प्राप्त भएको छ । सो सूचीको स्वतन्त्र प्रमाणिकरण हुन बांकी छ ।
CPN UMLE
KP Sharma Oli