तलब खुवाउन नसकेपछि साझाले २२ कर्मचारीलार्इ अवकाश
साउन - १ । साझा प्रकाशनले संशोधित कर्मचारी नियमावली बमोजिम माथिल्लो तहका २२ कर्मचारीलाई शुक्रबार अवकाश दिएको छ । साझा प्रकाशन कर्मचारी नियमावली २०७३ को विनिमावली दफा (५९) बमोजिम सञ्चालक समितिले अवकाशको निर्णय गरेको थियो । अवकाश पाउने अधिकृत तह प्रथमका बजार प्रमुख धीरेन्द्रराज खनाल, प्रेस शाखा प्रमुख प्रेमबहादुर कार्की, परियोजना प्रमुख तारा चालिसे र प्रशासन प्रमुख दीपक अधिकारीलगायतका कर्मचारीलाई तीन महिनाको तलब एकमुष्ट दिने गरी अवकाश दिएको हो । अवकाश प्राप्त कर्मचारी २० वर्ष सेवा गरिसकेका हुन् । साझामा हाल १९४ दरबन्दी रहेको छ । अधिकृतभन्दा माथिल्लो तहमा २४ दरबन्दी कायम रहेकोमा २२ जनालाई अवकाश दिइएको हो । प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कर्मचारीलाई छ महिनादेखि तलब खुवाउन नसकिएको, सरकारसँग यस विषयमा पटकपटक सम्बोधन गर्न माग गरे पनि त्यसतर्फ ध्यान दिन नसक्दा उनीहरुलाई अवकाश दिन बाध्य भएको बताए । पहिलो चरणको अवकाशअन्तर्गत २२ जनालाई अवकाश दिइएको र विस्तारै कर्मचारी कटौती प्रक्रियालाई अगाडि बढाइने उनले जानकारी दिए। हाल रु ४० करोड घाटामा रहेको प्रकाशनले आफ्ना विभिन्न कार्यालयमा रहेका जग्गा बिक्री गर्न बिहीबार बोलपत्र आह्वान गरेको थियो ।