घुष माग्ने कर्मचारीले सार्वजानिक रुपमा माफी मागे
घूस माग्दै सेवाग्राहीलाई कुटपिट गर्ने सप्तरी मालपोत कार्यालयका पाँच जना कर्मचारीले सार्वजनिक रुपमा माफी मागेका छन् । साथै घाइते सेवाग्राहीलाई उपचार खर्च र क्षतिपूर्ति दिइने सहमति भएपछि तीन दिनदेखि ठप्प कार्यालयको कामकाज आइतबारबाट सुचारु हुने भएको छ ।
जग्गा रजिष्ट्रेशनका लागि बुधबार मालपोत कार्यालय पुगेका राजविराज १० निवासी श्याम साहलाई मालपोत कार्यालयका कर्मचारीहरुले पाँच हजार घूस मागेका थिए । साहले घूस दिन नमान्दा कर्मचारीहरुले कागजात च्यात्दै कुटपिट गरेका थिए ।
कर्मचारीहरुले काठको मुढाले कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । साहलाई घूस माग्दै कर्मचारीहरुले कुटपिट गरेको बिरोधमा मधेसी मोर्चाले मालपोत कार्यालयको कामकाज ठप्प पार्दै आएको थियो ।
शनिबार प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा साह कुट्ने कर्मचारीहरुले दुई हात जोडेर सार्वजनिक रुपमै माफी मागेपछि मधेसी मोर्चा आन्दोलनबाट पछि हटेको हो । पशुपति देव, धर्मेन्द्र खडका, लालेश्वर यादव, हरिशचन्द्र चौधरी र योगेन्द्र कार्कीले दुई हात जोडेर आईन्दा यस्तो गल्ती नगर्ने भन्दै माफी मागेका हुन् ।
बैठकले कर्मचारीहरुको कुटाईबाट घाइते भएका साहलाई उपचार खर्च तथा क्षतिपूर्ती उपलब्ध गराउने सहमति भएको छ । कर्मचारीले सार्वजनिक रुपमै माफी मागेपछि अब आइतबारदेखि मालपोत कार्यालयको कामकाज सुचारु हुने मोर्चाले जनाएको छ ।
ghus mafi
Karmachari