राजधानीमा एक दम्पतीको अश्लिल भिडियो बजारमा आएपछि
साउन ४ । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो
भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे । कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ । ‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’ नागरिक दैनिक