ओली सरकारले युद्धको निम्तो दियो: विप्लव माओवादी
साउन ४ । सर्लाही ढुंग्रेखोलाका सुकुम्वासीमाथि सरकारले गरेको दमनका विरुद्ध नेकपा माओवादीले कडा प्रतिवाद गर्ने जनाएको छ । सुकुम्वासीहरुले भित्र्याउन लागेको मकै बाली र खेतमा रोपेको धान बाली हजारौ सुरक्षाकर्मी परिचालन गरेर नष्ट गरेपछि गत असार २१ गतेदेखि सर्लाही तनावग्रस्त छ । सुकुम्वासीहरुमाथि दमन गरिएको घटनास्थलमै अन्तरक्रिया कार्यक्रम आयोजना गरेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारले जनताका विरुद्ध युद्धको घोषणा गरेको प्रतिक्रिया दिएको हो ।
सर्लाही जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी र पीडित जनताको सहभागितामा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले सरकारले जवरजस्त युद्ध थोपर्न खोजेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्यूत घिमिरे, क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज बलराम न्यौपाने, नागरिक समाजका अगुवा नारायण खपाङ्गी लगायतले आफ्नो धारणा राखेका थिए ।
२०३४ सालमा पञ्चायत सरकारले अघि बढाएको सागरनाथ वन विकास परियोजनाले यस क्षेत्रमा हजारौ हेक्टर वन नष्ट गरेदेखि यस क्षेत्रमा विभिन्न ठाउंका सुकुम्वासीहरु बस्न थालेका थिए । सरकारले आफै २०५० सालमा ४१२ बाढी पीडितहरुलाई यस क्षेत्रमा बसालेको थियो ।