अर्थ ताजा खबर प्रवास News

नेपालको रेमिट्यान्सको सबैभन्दा धेरै हिस्सा खाडीमुलुक

नेपालको रेमिट्यान्सको सबैभन्दा धेरै हिस्सा खाडीमुलुक

Nepali Workers in gulf काठमाडौं, साउन ५ । विभिन्न मुलुक बाट भत्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ । खाडी राष्ट्रहरुमध्ये साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो ।

विश्व बैंकको तथ्यांक अनुुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै करिब २९ प्रतिशत कतारबाट आउँछ । साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युएईबाट साढे ११ प्रतिशत, कुबेतबाट ३.८४ प्रतिशत र बहराइनबाट ०.०३ प्रतिशत रेमिट्यान्स भित्रिँदै आएको छ । यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो ।

उक्त वर्ष करिब ६ खर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । तुलनात्मक रुपमा ती राष्ट्रहरुमा कामदारका रुपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए ।

गत जेठसम्ममा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ८ प्रतिशतको बृद्धि हो । अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानाडा आदिहरुको योगदान रेमिट्यान्समा कममात्र रहँदै आएको छ । (कान्तिपुर दैनिक)

Migration Nepali workers

विशेष