अख्तियारको दबाबमा नर्सिङ कलेजलाई अनुमति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्षेत्रभन्दा बाहिर गएर नर्सिङ कलेज सञ्चालन अनुमतिका लागि दबाब दिएको पाइएको छ । नियम विपरीत काम गर्नेलाई अनुसन्धान गरेर मुद्दा चलाउनु पर्ने निकायले नै पूर्वाधार नपुगेको अस्पतालको आफैं अनुगमन गरेर नर्सिङ कलेज सञ्चालनको दबाब दिएको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को १३७ औं बोर्ड बैठकले ०७१ चैत २३ मा सम्बन्धन दिएको १२ वटा नर्सिङ कलेजमध्ये केहीलाई आयोगको दबाबमा सम्बन्धन दिएको हो । सम्बन्धन पाएको १२ नर्सिङ कलेजमध्ये सिन्धुपाल्चोक खाडिचौरको सिन्धु सदाबहार अस्पताललाई नर्सिङ कलेज सञ्चालन अनुमति दिन आयोगले पटक पटक दबाब दिएको हो ।
आयोगले सीटीइभीटीलाई ०७० असार ३१ मा लेखेको पत्रमा सिन्धु सदाबहारलाई १५ दिन भित्र सम्बन्धन दिई त्यसको जानकारी दिन दबाबमुलक निर्देशन दिएको छ । यो पत्रबाट लेख्नुअघि पनि सम्बन्धन दिन पत्र लेखेको प्रष्ट हुन्छ । चलानी नम्बर ३३६२ रहेको पत्रमा भनिएको छ, ‘यस आयोगको प.सं ३–२६३र०६९र७० चं नं.२५४६ मिति २०७० जेठ २३ को पत्र प्राप्त भई व्यहोरा अवगत भएकै होला ।
उक्त पत्रमा सिन्धु सदाबहार अस्पताल प्रालि खाडीचौर सिन्धुपाल्चोकले पीसीएल नर्सिङ कोर्ष सञ्चालन सम्बन्धमा आवेदन दिई कारबाही उठेको प्रस्तुत बिषय सम्बन्धी कारबाही १५ दिनभित्र टुङगो लगाई सो को जानकारी यस आयोगमा उपलब्ध गराउन अनुरोध गरिएकोमा हालसम्म प्राप्त नभएकोले अबिलम्ब उक्त जानकारी यस आयोगको अनुसन्धान महाशाखा नं ६ मा उपलब्ध गराउनु हुनु निर्देशानुसार अनुरोध गरिन्छ ।’ पत्रमा आयोगमा कार्यरत प्रहरी निरिक्षक विभूतिराज कोइरालाले हस्ताक्षर गरेका छन् । इ कान्तिपूरबाट
Aktiyar lokman singh karki