इतिहासमा आज News

३८ औं पुष्पलाल स्मृति दिवस

३८ औं पुष्पलाल स्मृति दिवस

Puspalal काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । एमालेले पुष्पलालको स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदै छन् । २००६ सालमा भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए ।

उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए । विसं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् । यद्यपि वामनेताहरुले भने पुष्पलालको महत्व र सिद्दान्तबारे कम्युनिस्ट पार्टीहरुले बिर्सदै गएको आरोप लगाएका छन् । श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट नेताहरुको दाबी छ ।

बिपीले जन्माएको कांग्रेसमा त्यति धेरै फुट नदेखिए पनि पुष्पलाल लगायतका नेताहरुले जन्माएको कम्युनिष्ट पार्टीभित्र भने प्रशस्तै फुट र विभाजन भएका छन् । यो फुटको श्रृङ्खला २०१७ सालदेखि सुरु भएको हो । त्यसको ११ वर्षअघि २००६ सालमा मात्र कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

को हुन् पुष्पलाल ?

नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रुपमा भएको थियो । पुष्पलालका एक दाजू गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवं बहिनी पुष्पलता हुन् । पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि।सं। १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस’ भनेका थिए।   त्यहि  शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो ।

विसं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन विस्तार गरेका थिए । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सीपमूलकसमेत) तालमि दिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गरे ।

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे ।

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिक थिए ।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उनको विवाह साहना प्रधानसँग भएको थियो । २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम लिम्बुवान बजारमा पुगे । २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गरेका थिए ।

०१७ साल पुस १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए । नेपाली कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भयो ।

Nepali comunist Puspalal Shrestha

विशेष