ताजा खबर News

तीन सचिवले दिए राजीनामा

तीन सचिवले दिए राजीनामा

3-sachib काठमाडौं, साउन ७ । सेवानिवृत्त हुने समय नजिकिँदै गर्दा सरकारका तीन सचिवले राजीनामा दिएका छन् । ११ साउनमा सेवानिवृत्त हुने क्रममा रहेका राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठ, लोकसेवा आयोगका सचिव माधवप्रसाद रेग्मी र शिक्षा सचिव विश्वप्रकाश पण्डितले समय अवधिअगावै राजीनामा दिएका हुन् ।

उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाल १५ साउनमा र भर्खरै मात्रै सचिवमा बढुवा भएका पुरुषोत्तम पौडेल ५८ वर्षे उमेरहदका कारण १७ साउनमा सेवानिवृत्त हुने भएका छन् । राजीनामा दिएका सचिवहरूले आफ्नो पेन्सन रकम वृद्धि गर्न सेवानिवृत्त हुनुभन्दा अगावै स्वेच्छिक अवकाश लिएका हुन् । तीन सचिवले राजीनामा दिइसकेको र छिटै दुई सचिव पद रिक्त हुने भएकाले सचिव बढुवा प्रक्रिया चाँडै थालिने भएको छ । अवकाशप्राप्त तीनमध्ये एक पदमा निजामती सेवा ऐनअनुसार २० प्रतिशत ज्येष्ठताका आधारमा सबैभन्दा ज्येष्ठ लोकप्रसाद आचार्य स्वतः सचिवमा बढुवा हुने भएका छन् । बाँकी दुई सचिव पदका लागि भने तेब्बर संख्यामा ६ जनाको सिफारिस हुने भएको छ ।

पहिलो चरणको बढुवा सिफारिसमा ज्येष्ठ सहसचिवहरू लवदेव अवस्थी, खगराज बराल, विनोद केसी, गोपीनाथ मैनाली, सूर्यप्रसाद आचार्य, कृष्णप्रसाद देवकोटा, पूर्णचन्द्र भट्टराई, चूडामणि शर्मा, वेगेन्द्रराज शर्मा पौड्याल र शिशिरकुमार ढुंगानालगायतबाट सिफारिस हुने जनाइएको छ । पेन्सन रकम पाउन समयअगावै राजीनामा निजामती सेवा ऐनको दफा ३७ को उपदफा ३ अनुसार २१ कात्तिक २०४९ भन्दा अघिदेखि निजामती सेवामा बहाल रहेको कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले अवकाश लिन सक्नेछन् । त्यसरी अवकाश लिएका कर्मचारीको उमेर ६० वर्ष पूरा हुन जति अवधि बाँकी छ, सो अवधि थप गरी सेवा अवधि कायम गरिने व्यवस्था रहेकाले तीनैजना सचिवले पहिल्यै राजीनामा दिएका हुन् । यसरी पहिल्यै राजीनामा गरेर समय अवधि थप गर्दा एक सचिवले पाउनुपर्ने पेन्सनमा ४ देखि ५ हजारभन्दा बढी रुपैयाँ बढी पाउँछन् । तर, राजीनामा दिएका सचिवहरूले भने निजामती सेवा ऐनले दिएको सुविधाअनुसार नै आफूहरूले अवकाश लिएको बताएका छन् ।

नयाँ पत्रिका

Sachib

विशेष