ताजा खबर News

सुशासन समितिले बोलायो लोकमानलाई

सुशासन समितिले बोलायो लोकमानलाई

काठमाडौं, साउन ७ । संसदको सुशासन तथा अनुगमन समितिले अख्तियारका सबै पदाधिकारीसँग छलफल गर्ने भएको छ । समितिको आज बसेको बैठकले काठमाडौं विश्वविद्यालयको एमडी एमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको विषयमा छलफल गर्ने भन्दै अख्तियारका सम्पूर्ण पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

समितिले उक्त हस्तक्षेपको जाँचबुझ गर्न भन्दै उपसमितिसमेत बनाउने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन तथा चिकित्सा क्षेत्रको शुद्धीकरणका लागि भन्दै आठौँ पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य समेत प्रतिकूल बन्दै गर्दा उनले उठाएका मागहरुबारे चासो र छलफल बढ्नथालेको हो ।

समितिको आजको बैठकमा उपस्थित काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप भएको र विश्वविद्यालयको कम्युटरका सीपीयू अख्तियारले लगेको बताएका थिए । डा. केसीको मागबारे छलफल हुनुपर्ने भन्दै सांसद्हरु गगन थापा, धनराज गुरुंग र श्याम श्रेष्ठले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

Aktiyar lokman singh karki

विशेष