ओलीलाई दुईथरी झट्का, अविश्वासको प्रस्ताव पास हुनुपूर्व नै पदमुक्त
प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव पास हुनु भन्दा पहिले नै पदमुक्त हुने भएका छन् । सरकारले पेश गरेको आर्धिक विधयेक पारित हुन नसकेपछि राजनीतिक, संवैधानिक र नैतिकरुपमा प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् । काँग्रेस, एमाले र माओवादीका बीचमा आर्थिक विधयेकलाई पहिले संसदमा टेबल गर्ने सहमति भएपछि संसद शुरु भएको हो । यसरी संसद शुरु भएपनि प्रधानमन्त्री ओलीका लागि राहत मिल्नेछैन ।
किनकी अविश्वासको प्रस्ताव पेश हुनुभन्दा पहिले नै उनी पदमुक्त हुनेछन् । आर्थिक विधयेकको छिनाफानो भएलगत्तै अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुनेछ । छलफलपछि सो प्रस्ताव निर्णायर्थ पेश हुनेछ । आजै प्रधानमन्त्री ओली अविश्वासमा परी पदमुक्त हुनेछन् । प्रधानमन्त्री ओली पदमुक्त भइसकेपछि काँग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री पदमुक्त भएपनि नयाँ प्रधानमन्त्रीको निर्वाचनका बारेमा विधि के भन्ने अन्यौल कायमै छ । तर, राजनीतिक समझदारीका आधारमा विधिको टुंगो लाग्ने बताइएको छ । यसबीचमा तलमाथि केही नभएमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुनेछन् ।
देशको ३९ औं प्रधानमन्त्री प्रचण्डपछि काँग्रेस सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्री हुने कबुलियतनामा भइसकेको छ । गणतन्त्र स्थापना भएपछि पहिलो पटक काँग्रेस–माओवादी गठबन्धन सरकार बन्दैछ । पछिल्लो दशकमा काँग्रेस सरकारमा रहदा एमालेपनि सरकारमै रहदै आएको थियो । यसपटक एमाले प्रतिपक्ष बन्ने देखिन्छ । देशमा नयाँ समिकरणको शुरु भएको छ । यसअघि काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले राजिनामा दिने र नयाँ प्रधानमन्त्रीका बारेमा छलफल गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावले प्रचण्डको मुखैमा आएको प्रधानमन्त्री पद हुत्याउने आंशका राजनीतिकवृत्तमा भएको थियो । पौडेलको प्रस्तावलाई काँग्रेस, माओवादी र मधेशी मोर्चाले अस्विकार गरेपछि प्रचण्डको सिंहदरबार प्रवेश निश्चितजस्तै बनेको छ ।
KP Sharma Oli