
साउन - ८ । यतीबेला काठमाण्डौको नयाँ बानेश्वरमा दुईवटा कार्यक्रम भइरहेको छ । एउटा त संसदमा अविस्वासको प्रस्तावमा छलफल भइरहेको छ भने अर्काे हजारौँ युवाहरुले सडकमा डाक्टर केसीको समर्थनमा नाराबाजी गरिरहेका छन् । बानेश्वर अनौठो रोनकले तातिरहेको छ । जहाँ हजारौ युवाहरु ‘सबै कुरा प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ’ भनिरहेका छन । नेता, कलाकार, युवा लगाएतले नाराबाजी गरिरहेका छन ।

नयाँ शक्ति नेपालकी नेता हिसिला यामी, पूर्व मुख्य सचिव लिलामणी पौडेल पनि डा केसीको समर्थनमा सडकमा उत्रिएका छन् । त्यस्तै, कलाकारहरु निश्चल बस्नेत, ऋचा शर्मा, कमलमणी नेपाललगाएत हजारौँ युवाहरु अनेक प्लेकार्ड, व्यानर र शरीरका विभिन्न भागमा अनेक नारा लेखेर विरोध जनाइरहेका छन् । जुलुसले माइतीघरबाट शुरु भएर अहिले बानेश्वरमा आएर कार्यक्रम गरिरहेको छ ।

जुलुसमा उपस्थित भएका हजारौ युवाहरुले लोकमानसिहं कार्कीबिरुद्ध नाराबाजी गरिरहेका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाहरु साथसाथै स्वतन्त्र नागरिकहरु भेला भएर डाक्टर केसीको अभियानलाई साथ दिइरहेका छन् ।

प्लेकार्ड बोकेर सडकमा आएकी नायिका ऋचा शर्माले नेपालआजसंग कुरा गर्दै डाक्टर केसीको अनशन जायज रहेकोले नेपालीहरुले साथ दिनु पर्ने बताइन् । ‘देश भष्ट्राचारले गाँजेको बेला यस्ता आन्दोलन नेपालको लागि खाँचो छ ।’ उनी भनिन् ‘देशको भविष्य कस्तो बनाउने भन्ने नेपालीहरुकै हातमा छ । सबैले साथ नदिए देशमा भष्ट्राचार मौलाउँदै जान्छ ।’

त्यस्तै चर्चित कलाकार कमलमणी नेपाल डाक्टर केसीको अनशन समयको माग भएको बताउछन् । ‘देशलाई प्रगतिको बाटोमा लैजान भष्ट्राचारलाई जरैदेखि उखेल्नु पर्छ । ‘उनले भने ‘डाक्टर केसीको माग मेडिकलसम्बन्धी मात्र हैन राष्ट्रको माग हो, त्यसैले उहाँलाई सर्पोट गर्नुपर्छ । ३ करोड नेपालीको हितकोलागी हामी सबै उहाँलाई साथ दिनु जरुरी रहेको छ ।’ जुलुसमा सहभागी भएका कलाकार निश्चल बस्नेत पनि डाक्टर केसीको माग देशको हितको लागि भएकाले जुलुसमा सहभागी भएको नेपालआजलाई बताए ।

डाक्टर केसीको मागलाई सर्मथन जनाउन नयाँ शक्ति नेपाल पार्टीका नेताहरु पनि सहभागी भएका थिए । जुलुसमा सहभागी भएकी नयाँ शक्ति नेपालकी नेत्री हिसिला यामीले आफ्नो पार्टी सधै भष्ट्राचारकोविरुद्धमा भएकाले डाक्टर केसीलाई समर्थन गर्न आएको बताइन् । नेपाल कुरा गर्दै बोल्दै उनले भनिन् ‘डाक्टर केसीले देशको लागी आफ्नो ज्यान जोखिम पर्दा सरकारले केही गरेन । यो सरकार नै भ्रष्ट छ ।’ डाक्टर केसी देशकै सम्पत्ति भएकाले उहाँलाई नयाँ शक्तिले सधै साथ दिने बताईन् ।

जुलुसमा उपस्थित हजारौ युवाहरुले लोकमानसिंह कार्की र सरकारबिरुद्ध उत्तेजक नाराबाजी गरिरहेका छन । नयाँ बानेश्वरमा भेला भएर विभिन्न नाराहरु लगाएर डाक्टर केसीको मागलाई सबै सामु प्रस्तुत गरिरहेका छन् ।

चिकित्सा क्षेत्रमा देखिएको विकृतीको विरोधमा विगत १४ दिन देखि केसी अनशनरत छन् । दुई दिनसम्म केसी पक्षधर र सरकारी टोली बीच वार्ता भयो तर निष्कर्ष निस्कन सकेको छैन ।

केसीले अख्तियार प्रमुखलाई महाअभियोग लगाउने माग राखेका थिए । यसको पक्षम गगन थापाले छलफलको लागि संसदमा प्रस्ताव पनि पेश गरेका छन् । छलफलको लागि संसदीय समितिले आईतबार अख्तियार प्रमुख सहित सबै पदाधिकारीलाई बोलाउने भएको छ ।

प्रस्तुतिः सागर बुढाथाेकी/
तस्विरः गगन थापा/नेपालअाज
Dr Gobind KC
lok man karki
Nichal basnet
richa sharma