उडान अवरुद्ध हुँदा बिरामीलाई सास्ती
साउन ८ लगातारको वर्षा र बाक्लो हुस्सुको कारण खोटाङको मनमाया राई खानीडाडाँ विमानस्थलमा उडान अवरुद्ध भएको छ । गत २९ असारमा नेपाल एयरलाइन्सको विमानले उडान भरेको विमानस्थलमा वर्षा र हुस्सुका कारण त्यस यता कुनै पनि उडान हुन सकेको छैन ।
सदरमुकाम दिक्ततेल नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध भएपछि जिल्ला अस्पतालमा खोटाङमा अन्यत्र पठाइएका बिरामीलाई सबैभन्दा बढि समस्या भएको छ । विमानस्थलमा उडान नभएपछि बिरामीलाई स्टे«चरमा बाकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पुर्याउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तहरले बताएका छन् ।
पछिल्लो समय मौसम आएको खराबीका कारण विमानस्थलमा उडान नहुँदा आफूहरुलाई समेत समस्या भएको विमानस्थल प्रमुख यादवसेन राईले बताए । ‘उडान हुन्छ भनेर टिकट काटेर विमानस्थल पुग्यो, फेरि अवरुद्ध हुन्छ,’। उनले भने, ‘मौसमले साथ नदिएपछि हामीेले कसलाई दोष दिने, पटक पटकको अवरुद्धले हामी ज्यादै अप्ठ्यारोमा परेका छौँ ।’
गत वर्ष मात्रै कालोपात्रो गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएका थिए । हिलाम्मे र धुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थलमा कालोपात्रे गरिएपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए ।
जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणि क्षेत्रमा पर्ने थामखर्क विमानस्थल गत असारबाटै अवरुद्ध छ । उत्तरी क्षेत्रमा पर्ने लामीडाँडामा समेत नियमित उडान हुन सकेको छैन ।
मध्यपहाडि लोकमार्ग पर्ने सदरमुकाम जोड्ने दिक्तेल–हलेसी सडक गत जेठबाटै अवरुद्ध छ । जिल्लामा सञ्चालित अन्य सबै कच्ची सडक अहिले अवरुद्ध छ ।