सिटौलाद्धारा ओलिसँग निकाससहितको जवाफ माग
साउन ९ ।नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निकाससहित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले नयाँ सरकार गठनबारे संवैधानिक व्यवस्था नभएको दाबी गरे ।
अन्तरिम संविधानमा रहेको व्यवस्था नै नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा राखेको भन्दै उनले केपी ओली जुन धारालाई टेकेर प्रधानमन्त्री बनेका थिए तर त्यही धारालाई केटेर नयाँ सरकार बन्ने बताए ।
अबको निकास प्रधानमन्त्री र सभामुखको हातमा रहेको भन्दै उनले भने, ‘मेरो आग्रह छ, प्रधानमन्त्रीले जवाफ दिँदा निकाससहितकाे जवाफ दिनुहोस् ।’ उनले अघि भने, ‘कसैले कन्फ्यूजनमा बस्नु पर्दैन । जसरी पहिले सरकार बनेको थियो, त्यसरी नै नयाँ सरकार बन्छ ।’
सरकारबारे निर्णय गर्ने थलो संसद भएको भन्दै उनले संसदमाथि को छ भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो संसदले निर्णय गर्न सक्दैन भने यसको औचित्य छैन । हामी यो निष्कर्षमा पुग्नु हुँदैन ।’
कांग्रेस नेता सिटौलाले सरकार संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा असफल भएको आरोप लगाए । माओवादीले समर्थन फिर्ता लिएपछि वा बजेट आश्रति विधेयक फेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएको भए राम्रो हुने उनको भनाइ थियो । साथै उनले अब बन्ने प्रचण्ड नेतृत्वको सरकारको मुख्य चुनौती पनि यही भएको बताए । ‘सयुक्त सरकारले सिगो सदनलाई साथ लिएर संविधान कार्यान्वयन र पुनर्निर्माणमा सफलता हात पार्न सक्छ कि सक्दैन मूल विषय यहि हो,’ नेता सिटौलाले अघि भने, हाम्रो सहयोगमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ, म प्रचण्डलाई सजग गराउन चाहन्छु ।’
अबको सरकार मुल प्रतिपक्षलाई विश्वासलाई लिएर संविधान कायर्नन्वयनमा जानुपर्ने उनले बताए । यस क्रममा जति सकिन्छ संशोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा उनको जोड छ ।
संविधानसभा भंग हुँदा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जानु परेको स्मरण गर्दै उनले डेढ वर्षको बीचमा तीन वटा चुनाव गर्न नसके खिलराज प्रकरण दोहोरिन सक्ने संकेत गरे । krishna prasad sitaula PM Kp oli