बाढीले बगायो रंगेली सडक
साउन ९ ।बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि वैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार बाढीले सडक नै बगाएपछि आइतवार विहानैदेखि रंगेली उर्लावारी सडक खण्ड अवरुद्ध भएको छ । स्थानीयहरुको सहयोगमा बाँसको भाटाको सानो पुल बनाएर पैदल यात्री र साइकलसम्मको आवागमन भने सुचारु छ । सवारी साधन चल्न सक्ने अवस्था छैन ।
लगातारको वर्षाले बक्राहा खोलामा पानीको स्तर अत्याधिक बढेको छ । इलाका प्रहरी कार्यालय रंगेलीको कन्ट्रोलले भन्याे ‘कटान गरिएको सडक खण्डबाट पानी तीव्र गतिमा बगिरहेको छ । पानीको वहाव कम नभएसम्म त्यहाँ बैकल्पिक व्यवस्था गर्न समस्या छ ।’
प्रहरी कार्यालय रंगेलीका अनुसार बाढीले सडक नै बगाएपछि आइतवार विहानैदेखि रंगेली उर्लावारी सडक खण्ड अवरुद्ध भएको छ ।
पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार लगातारको वर्षाले मोरङको विभिन्न खोलामा आएको बाढीमा सयौ घर डुबानमा परेको छ । मोरङको मधुमल्लास्थित बक्राहा खोलाको बाढीले मधुमल्ला–५ बेतेनी गाउँस्थित बालुवाको अस्थायी बाँध भत्किदा दुई दर्जन घर डुबानमा परेको छ ।
डुबानमा परेका घरका मानिसहरुलाई अत्यावश्यक सामान सहित छिमेकी तथा आफन्तको घरमा सारिएको छ । बक्राहा खोलाको बाँध फुट्दा हसन्दह गाविस ३ र ५ मा अधिकांश घर डुबानमा परेको प्रहरीले जनाएको छ । हसन्दह ३ को ३० घर नै बाढीले बिस्थापित भएको छ । विराटनगर–१६ बखरीको सिमराही टोलको पनि २५ घर पनि डुवानले बिस्थापित भएको प्रहरीले जनाएको छ ।
kathmandu
rangeli morang
urlabari morang