प्रधानमन्त्री ओलीले संसदमा मन्तव्यसँगै राजिनामा दिने !
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै राजिनामा दिने भएका छन् । स्रोतका अनुसार भारी मतले अविश्वासको प्रस्ताव पारित हुने भएपछि उनी राजिनामा गर्ने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्रीले राजिनामा दिने भएपछि मन्त्रीहरु मन्त्रालयका महत्वपूर्ण फाइल हेर्न व्यस्त छन् ।
एक मन्त्रीले नाम नबताउने सर्तमा प्रधानमन्त्री ओलीले राजिनामा दिने कुरा पुष्टि गरेका छन् । उनले अविश्वासको प्रस्ताव निर्णायर्थ पेश गर्नु र नगर्नुको अर्थ नहुने स्थितिमा राजिनामा नै उत्तम रहेको भनि प्रधानमन्त्री ओलीले धाराणा राखेको बताए ।
प्रधानमन्त्री ओलीले संवैधानिक जटिलताको फाइदा उठाएर आफुले सत्ता लम्बाउन नचाहेको स्पष्ट गरेका थिए । ओलीले स्पष्ट शब्दमा आफ्नो अडान राखेपछि नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउको सिफारिश राष्ट्रपति समक्ष गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
सरकारले अडान लिएमा राष्ट्रपति बिद्या भण्डारीसमेत विवादमा तानिने र आफुले त्यस्तो स्थिति नचाहेको प्रधानमन्त्रीको भनाइ रहेको ति मन्त्रीले बताएका छन् ।
प्रधानमन्त्रीले राजिनामा दिएमा अविश्वासको प्रस्तावको औचित्य सकिनेछ । नयां प्रधानमन्त्रीको चयन प्रक्रिया शुरु हुंनेछ ।