अन्तरजातिय विवाहपछि बेहुला मृत फेला, शंकाको घेरामा माइती र प्रहरी (भिडियो सहित)
काभ्रे पाचखाल, ४ होक्सेका अजित ढकाल (मिजार) र सोही ठाऊंकी कल्पना पराजुली (बाहुन)का बीचमा प्रेम विवाह भयो । असार २५ गते उनीहरुले विवाह गरेपछि केटीको माइती पक्ष शोकमा डुव्यो । कारण छोरीले उनीहरुको ‘नाक’ काटिदिएकी थिइन् ।
विवाह भएको ५ दिन नबित्दै अजितको घरपरिवार शोकमा डुब्यो । १८ बर्षका कलकलाउँदा अजित टाट्नामा घुँडा टेकेको तर झुण्डिएको अवस्थामा मृत फेला परे । विहे गरेको २ दिन पछि नै माइती प्रहरीमा उजुरी दिन पुग्यो । छोरी कल्पना १६ बर्षकी मात्रै भएकीले बालबिबाह गैरकानूनी भएको उनहरुको उजुरी थियो । प्रहरीले अजित र कल्पनालाई अलगअलग गरिदियो ।
त्यसको तीन दिनपछि अजितको लास धादिङ भेटियो । आत्महत्या नभइ हत्या भएको अजितको परिवारको भनाइ छ । अजितका दाजु दिपेन्द्रका अनुसार कल्पनालाई फिर्ता लिन जाँदा कल्पनाको परिवारले अजितलाई ज्यानमार्ने धम्की दिएको थियो । सयुंक्त राजनीतिक दलित समितिका सदस्य साजन विक भन्छन्, ‘यो घटना शंकास्पद र रहस्यमय छ । हत्या भएको परिस्थितिजन्य प्रमाणले पुष्ठि गर्छ ।’
साजनका अनुसार धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतीक्षालयमा असार ३० गते विहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजीरुपमा पोष्टमार्टम गरी दरौदी खोलामा अजितको लासलाई गाडिदिए ।
प्रहरीमाथी नै शंका
लास गाडिसक्दा पनि मृतकको आफन्तलाई कुनै जानकारी नगराइएको साजनको आरोप छ । प्रहरीले बेवारिसे अवस्थाको लास भएकाले स्थानीयको सहयोगमा दाहसंस्कार गरिएको प्रष्टिकरण दिएको छ । परिवारले वेवारिसे लास दाहसंस्कार गर्नका लागि अपनाउनुपर्ने सामान्य कानूनी प्रक्रियासमेत प्रहरी पूरा नगरेको अजितका परिवारको भनाइ छ । धादिङको एक अनलाइनले झुन्डिएको अवस्थामा फेला परेका अजितका तस्बिर प्रकाशित गरेपछि परिवारले घटनामा थाहा पाएका थिए । त्यसपछि अजितका आफन्त धादिङ पुगे । तर, दाहसंस्कार भइसकेको प्रहरीले जवाफ फर्कायो । त्यसपछि अजितका आफन्तले अधिकारकर्मी गुहारे । सयुक्त राजनीतिक दलित समिति र राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमार्फत चिठ्ठी पठायो । प्रहरीले अजितको लास साउन २ गते गाडिसकेको थियो । चौतर्फी दबाबपछि लास उत्खनन गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज ल्याइएको साजन बताछन् । तर, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकाले फेरी पोष्टमार्टम गर्न नपाइने रिपोर्ट दिएर अजितका आफन्तलाई फिर्ता पठाएको उनको भनाइ छ ।
टिचिङ अस्पतालका फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले अजितले आत्महत्या गरेको पुष्टि नहुने आधार देखाएको साजन बताउंछन् ।
अजितको शव भेटिनुअघि
२८ गते कलेजबाट फर्किएपछि अजित ठुलीआमाको घर गएका थिए । उनी २९ गते कलेज नगएको उनका दाजु दिपेन्द्र बताउछन । दिपेन्द्रको अनुसार दिउँसो दुई बजेतिर दाजुभाइले सँगै खाना खाएर बसेका थिए । दिपेन्द्र पानी लिन निस्किए । घर फर्किंदा भाइको मोबाइल घरमै थियो तर भाइ थिएन । रातिसम्म नफर्केपछि आफूहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउँछन् ।
राती आठ बजेसम्म अजित घर फर्केनन । त्यसै रात ८ बजेतिर अजितले आफुलाई फोन गरेको जानकारी ठूली आमाले गराइन् । त्यसपछि दिपेन्द्रले अजितले फोन गरेको नम्बरमा डायल गरे । उताबाट जवाफ आउंदैनथ्यो । अरुले नै गीत सुनाउने र फोहर कुरा बोल्ने गरेको दिपेन्द्र बताउछन ।
अजित सम्पर्कबीहिन भए । घरबाट धेरै खोजिनीति गर्दा पनि केही पत्तो लागेन । विवाह गरी छुटेको तीन दिन नबित्दै अजितको लास धादिङमा पासो लागेको अवस्थामा फेला पर्यो । उनको मृत्यु निकै शंकास्पद भएको आफन्तहरुले बताईरहेका छन । तस्बिरले पनि सो कुराको पुष्टि गर्छ ।
[embed]https://youtu.be/mhE62GndMpU[/embed]काभ्रेको अजितको शव धादिङमा भेटिनु र प्रहरीले केही खबर नै नगरिकन शव गाड्नु कुनै संयोग नभएको साजनको तर्क छ । फेरि पोष्टमार्टन नै नगरिकन पोष्टमार्टन गरेको उल्लेख गर्नु प्रहरीको भुमिका माथि नै प्रश्न खडा भएको छ । यतीबेला टिचिङ अस्पतालले पोष्ट मार्टमको रिर्पोट मृतकका परिवारलाई दिएको छैन । अस्पतालले बाँकी अनुसन्धान भईरहेको पीडित परिवारलाई जानकारी दिएको मृतकका दाजु दिपेन्द्र बताउछन । प्रस्तुतीः सागर बुढाथोकी
ajit mijar and kalpana parajuli intercast marriage antarjatiya bibahapachi intecast marriage ajit mijar