चीनमा बाढीबाट मृत्यू हुनेको संख्या १५० नाध्यो
साउन – १० । उत्तर तथा मध्य चीनमा आएको भीषण बाढीका कारण एक सय ५० भन्दा बढीको मृत्यु भएको छ । बाढीमा सयौं मानिस बेपत्ता भएका छन् । हेबेई र हेनान प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिनियाँ अधिकारीहरूका अनुसार हेबेईमा १ सय ११ मानिस बेपत्ता भएका छन् भने १ सय १४ जनाको मृत्यु भएको छ । त्यहाँ ५३ हजार घर क्षतिग्रस्त भएका छन् ।
हेनान प्रान्तमा पनि १५ जनाको मृत्यु भएको छ भने ७२ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण १५ लाख हेक्टरमा लगाइएका बालीनालीमा क्षति पुगेको छ भने ३ अर्ब बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । यस्तै, दुई प्रान्तका अधिकांश स्थानमा सञ्चार तथा यातायात सम्पर्क विच्छेद भएको चिनियाँ समाचार समिति सिन्हवाले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार बाढीबाट चीनमा ८६ लाख मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेहरूको मानिसहरूले बाढीबारे समयमै सचेत नगराइएको र उद्धार कार्य प्रभावकारी नभएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरूले सडकसमेत अवरुद्ध गरेका थिए ।
मागे माफी मेयरले
यसैबीच, हेबेई प्रान्तको सिङटाई सहरका मेयर डोङ सियाउले अपर्याप्त उद्धारप्रति माफी मागेका छन् । ‘म जनधनको संरक्षण गर्न असफल भएकोमा क्षमायाचना गर्छु, सिटी पार्टी कमिटी र सरकारका तर्फबाट पीडित तथा उनीहरूका परिवारजनप्रति गहिरो समवेदना र जनतासँग माफी माग्छु,’ उनले भनेका छन् । उनले सरकारले वर्षालाई कम आँकेकाले आपत्कालीन उद्धार अपर्याप्त भएको स्पष्ट पारेका छन् ।
मेयर डोङले आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् । बाढीबाट सिङटाई सहरमा मात्र २५ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् ।
China
China Flood