देश News

विदेशस्थित नेपाली नियोगको क्षमतामाथि गम्भीर प्रश्न चिन्ह

विदेशस्थित नेपाली नियोगको क्षमतामाथि गम्भीर प्रश्न चिन्ह
Somlal Subediसाउन - १० । मुख्यसचिव डा. सोमलाल सुवेदीले विदेशस्थित नेपाली दूतावास र नियोगहरुको क्षमतामाथि प्रश्न उठाउँदै कमजोर क्षमताका कारण अन्तर्राष्ट्रिय सम्बन्ध आशा गरेअनुसार सुधार हुन नसकेको बताएका छन् । मुख्यसचिव डा. सुवेदीले सोमबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा परराष्ट्र सेवाका कर्मचारी र राजनीतिज्ञहरुले आफ्नो पेवा सम्झिने गरेका कारण विदेशस्थित नेपाली दूतावास र नियोगहरुको क्षमतामा प्रश्न उठ्ने अवस्था आएको बताए । उनले क्षमता नै नभएका व्यक्तिले राजदूत र नियोग प्रमुखको जिम्मेवारी पाइरहेको र त्यसको असर कुटनीतिमा परिरहेको दावी गरे । राजनीतिक भाग–बण्डा मिलाउन र आफ्ना मान्छेलाई राजदूत बनाउन जथाभावीरुपमा दूतावास खोलिएको भन्दै क्षमता नै नहेरी राजदूत बनाइएको परिणाम मुलुकले लाभ पाउन नसकेको मुख्यसचिवको आरोप छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी बैठकमा मुख्यसचिव डा. सुवेदीले राजदूतहरुको नियुक्ति प्रक्रियामा पुनरावलोकन आवश्यक रहेको घारणा राखे । उनले भने, ‘मुलुकको आवश्यकता, राजनीतिक मूल्य र कुटनीतिक क्षमतामा सन्तुलन कायम हुने गरी राजदूतहरु नियुक्त गरिनुपर्छ यसका लागि छनौट समिति गठन गर्दा उपयुक्त हुन्छ ।’ मुख्यसचिव डा. सुवेदीले अहिलेको छनोट प्रक्रियामा पुनरावलोकन नगरे कुटनीतिक क्षमता बलियो नहुने बरु झन् कमजोर भएर जाने ठोकुवा गरे । अहिले परराष्ट्र सेवाबाट ५० प्रतिशत तथा राजनीतिक तहबाट ५० प्रतिशत राजदूत नियुक्त गर्ने व्यवस्था छ । मुख्यसचिव डा. सुवेदीले परराष्ट्रवाहेकका अन्य सेवाका विज्ञ कर्मचारी, अवकाशप्राप्त कर्मचारी, विश्वविद्यालयका विज्ञ सबैलाई समेट्ने गरी राजदूत छनोट गरिनुपर्ने बताए ।

Bideshi niyog Som Lal Subedi

विशेष