राजनीतिलाई तरंगित पार्ने प्रधानसेनापतिको भाषण र विज्ञप्ति

साउन - १० । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्ने भनि दिएको अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाएको छ ।
गमला हस्तान्तरण जस्तो सामान्य कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले गम्भीर र संवेदनशिल विषय बोल्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । कृषिमा व्यावसायिकरणको जागरण अभियानमा कार्यरत अष्ट “ज” अभियान नामक संस्थाले प्रधान सेनापतिसमक्ष गमला हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै प्रधानसेनापति क्षेत्रीले भने, 'नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व हो । नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको छ ।'
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा सेनापति क्षेत्रीको भनाइ र सो भनाइलाई विज्ञप्तिमा उद्धरित गर्नुलाई कतिपयले विगतसँग जोडेर हेरेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालिन सेनापति रुक्माङगत कटवालसँग खटपट भएको थियो । सेनापति प्रकरणपछि प्रचण्डले राजिनामा दिएका थिए ।
rajendra chhettri
प्रधानसेनापति राजेन्द्र क्षेत्री
