नि:सन्तान ओलीका लाख सन्तान, प्रचण्डले केही सिक्लान् ?
दार्शनिक प्लेटोले 'रेटोरिक्स' मा नेताका गुणबारे उल्लेख गरेका छन् । आर्दश नेता अविवाहित र नि:सन्तान हुनुपर्ने उनको पहिलो सर्त छ । दोस्रो आर्दश नेता हुनका लागि ऊ परिवारबादबाट मुक्त हुनुपर्छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्ष लिएको भनिएको अडान एकातिर छ । अर्कोतर्फ उनी परिवारवादबाट मुक्त भए । उनको सचिवालय र उनले गरेका नियुक्तिमा कोही ‘ओली’ नपर्नु उनको महानता थियो । उनी सन्तानविहीन अवश्य हुन् तर आफन्त र परिवार विहीन होइनन् । उनले चाहेको भए दुईचार जना भाइभतिजालाई सहजै नियुक्त गर्न सक्थे । ओली कूललाई राम्रै गुन लगाउन सक्थे । यसको अर्थ ओलीले राम्रो मान्छेलाई नियुक्त गरे भन्ने होइन । युवा परिषद्लाई उनले एमालेको भातृ संगठन त्योपनि ओली गुटको जस्तो बनाए । कैयौं डनहरुलाई धन कमाउने मेसो बनाइदिएको समाचार नआएको होइन । जे भएपनि उनले पार्टी कार्यकर्तालाई नियुक्त गरेका छन् । धेरैले यसै भनेर चित्त बुझाएका हुन् ।
निसन्तान प्रधानमन्त्री केपी ओलीले सन्तानको माया विर्साउने गरी माया पाएका छन् । एमालेभित्रको एउटा तप्काले उनलाई बा भनेर बोलाउँछ । एमालेसँग कुनै लिनुदिनुको सम्बन्ध नभएकाहरुले पनि उनलाई पिताश्रीलाई जस्तै पूज्य शब्दगुच्छा अर्पण गरिरहेका छन् । आजको दिनमा ओलीलाई भेटाउने र मेटाउने गरी कुनै नेताले जनताको मन जितेको होस् । यसका मनोवैज्ञानिक पक्ष छन् । राजनीतिक कारण त छदैछन् ।
ओलीले भोलिका लागि आफुले साँच्नुपर्ने केही छैन भन्ने तर्कलाई स्थापित गरे । धर्ती छोड्न तयार भएको आफुलाई पद छाड्न कुनै कठिनाइ नभएको मार्मिक अभिव्यक्तिबाट उनले धेरैको मन जिते । मृगौला प्रत्यारोपण गरी बाँचेका उनले व्यक्तिगतरुपमा केही नचाहिएको भाव दिन सके । जाँदाजाँदै निसन्तान ओलीले आफू युवाको भोलिका लागि बाँचेको सन्देश प्रवाह गरे । लाखौंले उनलाई बा जस्तै प्रेम दर्शाए ।
अबका प्रधानमन्त्रीले सिक्ने के ?
प्रचण्ड र ओलीको राजनीतिक यात्रा बिल्कुल फरक छ । यसको तुलना यहां गर्न खोजिएको छैन । सन्दर्भ, परिवार र परिवारवादको हो । प्रचण्डको राजनीतिक जगमा हजारौं बा–आमाका छोराछोरीको बलिदानी छ । कैयौंले आफ्नो सन्तान गुमाएरपनि प्रचण्डमा भविष्य देखे वा देखिरहेका छन् । प्रचण्डले परिवारवादलाई प्रश्रय दिंदा कम्तिमा पनि ति हजारौं परिवालाई असाध्यै पोल्छ जसले प्रचण्डको पछि लागेका आफ्ना छोराछोरी युद्धमा गुमाएका छन् ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुंदा उनले केही माओवादी पृष्ठभूमी भएका राजनीतिक विश्लेषकलाई डाकेर सुझाव मागेका थिए । त्यसमध्ये एक थिए मुमाराम खनाल । खनालले सुझाव दिए, ‘सचिवालयमा छोराछोरी, भाइ भतिजा कोही नराख्नोस् । तपाईले दाहाल थरको कोही राखेपनि परिवारकै ठहर्छ । तपाईका कारणले सन्तान गुमाएका र परिवार छिन्नबिन्न भएकालाई तपाईको सन्तान मोह र परिवार प्रेमले धेरै दुखाउंछ ।’ खनालले एक प्रसंगमा लेखेका छन्, ‘प्रचण्डले टाउको हल्लाए । ठीक कुरा भने । तर सचिवालयमा छोरा र भतिजलाई नियुक्त गरे ।’
प्रचण्ड परिवारका कारण प्रायः विवादमा आइरहन्छन् । प्रचण्डलाई राजनीतिक प्रश्न जति पनि उठाउंन सकिन्छ । तर, सास्कृतिकरुपमा शंकापनि गर्न सकिदैन । माओवादीजनले तर्क गर्छन् । तर, उनै प्रचण्डले साँस्कृतिकरुपमा बदनाम भएका परिवारका सदस्यलाई सारथी बनाएर हिड्छन् । माओवादीहरुको शीर यहाँभन्दा बढी कहाँ निहुरिएको होला ?
प्रचण्ड सिंहदरबार प्रवेश गर्दै गर्दा दाहालमय हुन्छन् वा प्रचण्डमय रहन्छन् ? यो प्रश्न सबैभन्दा पेचिलो छ । फेरिपनि उनले उही पुनरावृत्ति गरे भने उनी परिवारको मात्र बा हुनेछन् । दुनियाँले बा भनेका ओलीको आसनमा उनी असोभनिय देखिनेछन् । उनको पाइ पाइ हिसाव गर्न लाखौं अडिटर कापी कलम लिएर तम्तयार भएका छन् ।
Oli Prachanda