कभर स्टोरी News

सैनिक ब्यारेकको त्यो कालरात्रीदेखि पार्टी अध्यक्षसम्म

सैनिक ब्यारेकको त्यो कालरात्रीदेखि पार्टी अध्यक्षसम्म

bhawana-bidhrohi-nepalaaja

२०५३/०५४ सालतिर माओवादीको चर्चामात्रै थियो पूर्वमा । पश्चिमबाट पूर्वतर्फ माओवादीको राप पुगिसकेको थिएन । माओवादीका बारेमा किम्बदन्ती भने अनेक बनिसकेका थिए । किशोरवयको उत्तरार्धमा पुग्दै गरेकी भावना मनमनमा माओवादीबारे कल्पन्थिन् । आफुपनि राइफल भिरेर कफन बाँधेर मुक्तियात्रामा निस्किएको चित्र उनको मानसपटलमा घुमिरहन्थ्यो ।

माओवादीप्रतिको उनको आकर्षण घरपरिवारबाट छिपेको थिएन । अनेक तरहले उनलाई सम्झाइन्थ्यो । उनको मन थामिदैनथ्यो । अन्ततः झापाली भावनाले बिद्रोही बन्ने निधो गरिन् । कसैको करकाँपमा होइन । उत्कट चाहनाले उनी माओवादी बनिन् ।

२०५८ सालमा भावना पहिलो पटक पक्राउ परिन् । २०५९ सालमा उनी तेस्रो पटक पक्राउ परिन् । गिरफ्तार परेपछि सेनाले उनलाई लखनखेलको सैनिक ब्यारेकमा राख्यो । त्यसपछि भैरबनाथगणमा सारियो ।

भैरबनाथगणको परिचय यमलोकका रुपमा स्थापित भइसकेको थियो । त्यहां पुगेका अधिकांश माओवादी मारिन्थे । बाँचेकाको पनि हालत खराब हुन्थ्यो । भावनाको नियतीपनि फरक किन हुन्थ्यो र ?

दिउँसभरि सेनाले ब्यारेकमा राख्थ्यो । रात परेपछि भ्यानमा राखिन्थ्यो । मार्न लान लागेको हो कि सार्न ? शुरुमा त यस्तै लाग्थ्यो । तर, होइन रहेछ । ब्यारेकमा भन्दा केही पर लगेर सामुहिक बलत्कार गरियो ।

उनको आँखामा पट्टि बाँधिएको हुन्थ्यो । त्यसैले उनको लुगा कस्ले खोल्यो भन्ने देख्न सक्दिनथिन् । लुगा खोलेपछि सेनाको समुह जोडले हास्थ्यो । संवेदनशील अंगका बारेमा अश्लिल शब्द प्रयोग गर्थे । बन्दुकको कुन्दाले घोच्थे । पीडाको सीमा हुँदैनथ्यो । सामुहिकरुपमा जाइलाग्ने क्रिया त नित्य भइरहन्थ्यो । रगतपच्छे भएकी उनी मुर्छा पर्थिन । त्यसपछि के हुन्थ्यो, उनलाई पत्तो हुंदैनथ्यो । होशमा आउँदा उनी ब्यारेकमै हुन्थिन् । बाहिरी दुनियाँका लागि भावना बेपत्ता थिइन् । तर, ब्यारेकभित्र उनी नारकीय जीबन जिइरहेकी थिइन् । सेनाले विज्ञप्ति निकाल्थ्यो । सेना मानव अधिकारमा कटिबद्ध छ, नियन्त्रणमा लिइएकाको जीबन रक्षा सुनिश्चित गरिएको ब्योहरा विज्ञप्तिमा हुन्थ्यो । भित्र, भावनाहरुको त्यो हाल थियो ।

यातनाका कारण शरीरमा घाउ लाग्थ्यो । घाउ निको नहुँदै फरी यातना थपिन्थ्यो । घाउ बल्झेर पाक्थ्यो । आफ्नै शरीर आफैंलाई गनाउथ्यो । यसो छाम्दा उनले बाक्लो पीप निस्किरहेको महशुश गर्थिन । भावना भन्छिन्, ‘ज्यूँदो फर्किएला भन्ने थिएन । मृत्युको पर्खाइमा थियौं हामी । जीबन र अस्मिताका लागि गरिएको अनुनय बिनय र याचना सुनिदिने कोही थिएन ।’

शान्ति प्रक्रियासँगै फर्किएको जीबन

शान्ति प्रक्रिया शुरु नभएको भए उनको जीबनको अन्त्य भइ सक्ने थियो । ०६३ सालमा शान्ति प्रक्रिया शुरु भएपछि उनी हिरासत मुक्त भइन् । हिरासत मुक्त भएपछि उनले न्यायका लागि सर्वोच्वमा रिट हाल्ने सुर कसिन् । उनका वकिल थिए नन्दु आचार्य । आचार्यले उनलाई झुलाउनुसम्म झुलाए । यथास्थितिमा न्याय नपाइने उनले ठहर गरिन् । र, फेरि संर्घषको मोर्चामा लागिन् ।

पार्टी पहिलाको जस्तो थिएन । आफुभन्दा तल रहेका साथीहरु माथि पुगिसकेका थिए । जेलजीबन बिताएकाहरुलाई हेर्ने दृष्टिकोण फरक भइसकेको थियो । बसीबसी आएको झैं व्यवहार गर्न थालियो । नेताहरुपनि उस्तै थिएनन् । हिजो आर्दश ठानेका महान नेताहरु पदीय छिनाछप्टीमा लागेका थिए । उनको मन फाट्दै गयो । नेताहरुले सर्वहरा चिन्तन र व्यवहार छाडेको ठहर गरेकी उनले अन्ततः २०६७ सालमा नेपाल सर्वहरा कम्युनिष्ट पार्टी माओवादी गठन गरिन् ।

३५ बर्षे युवतीको यो पार्टी बाल्यकालमा छ । खाशै चर्चामा पनि छैन । उनको दाबी बेग्लै छ । भन्छिन्, ‘यो कुनै सिद्धान्तको ठेली पढेर बनाइएको पार्टी होइन । संर्घषको भट्टीबाट जन्मिएको सन्तान हो । यसको भविश्य राम्रो छ ।’

सन्तानको प्रसंग आउंदा उनकै जीबनका बारेमा सोधियो । उनी अबिबाहित रहिछन् । उनका लागि व्यक्तिगत जीबनको उति मोहपनि रहिनछ । ‘बिबाह गर्ने उमेरमा ब्यारेकमा भइयो । बिबाहपछिका कर्मप्रति दिक्क लाग्ने गरी व्यबहार भोगियो । आमाले धेरै भन्नुहुन्छ । तर, मलाई बिबाहप्रति कुनै चाँसो छैन । अब गरिदैन होला ।’ भावुक बनेकी भावनाले निचोड सुनाइन् ।

भावना नाम आफैंमा भावुक सुनिन्छ । पहिले पहिले उनी आफुलाई भावुक ठान्थिन । परिस्थितिवश उनले घरबाट बिद्रोह गरिन् । ब्यारेकमा बिद्रोह गरिन् । भन्छिन्, ‘मर्न तयार भइयो, झुक्न तयार भइएन ।’ हुँदाहुँदा पार्टीबाटै बिद्रोह गरिन् । अहिले त उनी आफुलाई बिद्रोहीकै नामले चिनाउन चाहन्छिन् । त्यसैले उनी भन्छिन्, ‘मेरो थर र गोत्र नसोध्नुहोस् । म बिद्रोही हुं ।’

balatkar dekhi communist party bhawana bidhrohi jiwan bhawanako jiwan

विशेष