बाढीले पुर्याएको क्षतिको विवरण (फाेटाे फिचर)
साउन - ११ । विगत केही दिन देखिको अविरल वर्षाका कारण आएको वाढी र पहिरोले मुलुकका विभिन्न जिल्लाहरुमा जनधनको क्षति हुनका साथै जनजीवन समेत प्रभावित हुन पुगेको छ ।
गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाहरुमा गरी २८ जनाको मृत्यु , १० जना घाइते, २४ जना बेपत्ता भएका छन् भने ७५ वटा घरमा पूर्ण र २ घरमा आंसिक क्षति हुन पुगेको छ ।
हालसम्मको विवरण अनुसार प्यूठानमा–६, गुल्मीमा–५, पाल्पामा–४, बाग्लुङमा–४, मकवानपुरमा–३, रुपन्देहीमा–२, काठमाण्डौ, अर्घाखाँची, दोलखा र सर्लाही जिल्लामा १÷१ जनाको मृत्यु भएको छ भने गुल्मीमा–३, काठमाण्डौमा–२, बाग्लुङमा–२, प्युठान, दोलखा र अर्घाखाँचीमा १÷१ जना घाइते भएका छन् ।
त्यसैगरी प्यूठानमा–१९, बाग्लुङमा–२, सुनसरी, सप्तरी र झापामा १÷१ जना वेपत्ता भएका छन् । तिनाउ नदीमा आएको बाढीले त्यहाँको झोलुङ्गे पुल बगाएको छ र मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको छ ।
यसैगरी झापाको विरीङखोलामा आएको बाढीले डाँगीबारीको तुलसीबारीमा २ वटा घर बगाउनुका साथै २५ घर प्रभावित भएका छन् । बाढी र पहिरोका कारण केही जिल्लामा सडक अवरुद्ध भएका छन् भने केही जिल्लामा वस्तीहरु डुवानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले दिएको जानकारी अनुसार हस्तिचौर गाविस १ मल्दीमा मंगलबार बिहान गएको पहिरोले भीमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षीया दिदी कालिका दर्जी, ४९ वर्षीया श्रीमती तुलसी दर्जी र १९ वर्षीया बुहारी अस्मिता दर्जीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै बिशुखर्क ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपालबहादुर रानाको घर बगाउँदा उनका ९ वर्षीय छोरा सुजन राना र ७ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको छ ।
दुई दिनदेखि परेको अविरल बर्षाले बागलुङका छुट्टाछुट्टै स्थानमा मंगलबार घर भत्किदाँ च्यापिएर बालिका सहित तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा राजकुट ७ की ८ बर्षीया बालिका, तुजी तामाङ र उनकी दिदी पर्ने २२ बर्षीया पिकी लोप्चन साथै दर्लिङ ३ की १६ बर्षीया यमुना बुढामगरको घर भित्रै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यमुनासँगै पुरिएका उनकी ३९ बर्षीया आमा देवी र ८ बर्षीय भाई राजु वेपत्ता छन् । स्थानीयको सहयोगमा खोजी कार्य जारी राखिएको बागलुङ प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काले बताए ।
बाँकेको होलिया गाविसको चौखेरीमा राप्तीको भंगालोले अलपत्र परेका स्थानीयलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ । डेढ सयको उद्धार भएको छ भने अझै सयौँ उद्धारको पर्खाइमा छन् ।
रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले एकै घरका २ जनालाई बगाएको छ । सालझण्डी गाविस १ फुलबारीका ६० वर्षे छवीलाल गाह र उनकी पत्नी ५५ बर्षे हुमीकला गाहलाई बगाएको इप्रका सालझण्डीले जनाएको छ । बाख्रा चराउन गएका उनीहरुलाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवैजनाको शब निकालेको छ । बाढीले २ घरमा क्षती पुगेको छ ।