ताजा खबर रोजगार News

सयमा नौ डिएसपीमात्र परीक्षामा पास

सयमा नौ डिएसपीमात्र परीक्षामा पास

APF nepal

साउन १२ । सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका हुन् ।स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो । पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक आवश्यक थियो । तर, ९१ डिएसपी ५० प्रतिशत कटाउन असफल भएका छन् ।

स्टाफ कलेजको नियमअनुसार पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुनेहरू तालिममा भाग लिन पाउँदैनन् । उनीहरूले फेरि अर्काे वर्ष परीक्षा दिनुपर्ने हुन्छ । गत वर्ष सयमध्ये १२ जना उत्तीर्ण भएका थिए । यस वर्ष गत वर्षभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । सशस्त्रमा स्टाफ कलेज तालिम उत्तीर्ण नगरे एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैन । तर, पहिलो सेमेस्टरमै धेरै उत्तीर्ण हुन नसकेपछि सशस्त्रमा स्टाफ कलेजले धेरै डिएसपीको करिअर संकटमा पारेको छ ।

लगातार तीनपटक पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुने सशस्त्र प्रहरीले सो तालिममा भाग लिन पाउने छैनन् । ५० भन्दा धेरै डिएसपी लगातार दोस्रोपटक अनुत्तीर्ण भइसकेको स्रोत बताउँछ । तालिम र जाँचबाट क्षमतावान् अधिकारीलाई मात्र माथिल्लो पदमा पुर्याउने अवधारणाअनुसार सशस्त्र प्रहरीमा गत वर्षदेखि सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिम सुरु भएको हो । तर, प्रवेश परीक्षामा नै थोरै मात्र उत्तीर्ण भएपछि सशस्त्र नेतृत्व नै तालिमसम्बन्धी प्रावधानबारे अन्योलमा परेको छ ।

सशस्त्रको स्टाफ तालिम त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएको हो । जसको एमएसरहको मान्यता हुन्छ । नयाँ पत्रिका

 

APF Nepal Staff College

विशेष