अपराध सुरक्षा ताजा खबर News

नजर कोशी व्यारेजमा भए पनि भारतको निशाना अन्तै !

नजर कोशी व्यारेजमा भए पनि भारतको निशाना अन्तै !

 Kosi Byarej साउन १२ । इस्लामिक अतिवादी समूहले नेपाल–भारत सीमास्थित कोसी ब्यारेज (सप्तकोसी पुल) आक्रमण गर्ने योजना बुन्दै गरेको भनी भारतले दिएको सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरुले बताएका छन् । उक्त सूचना अत्यन्त गम्भीर र विचारणीय भएको जनाउँदै उनीहरुले यो सूचना र आउने प्रक्रिया अनुसन्धानको विषय भएको बताए । केपी ओली नेतृत्वको सरकार कामचलाउ बनेको र नयाँ सरकार गठन भइनसकेको अवस्थामा आतंकवादी आक्रमणजस्तो अति नै गम्भीर र समवेदनशील सूचना सबैभन्दा तल्लो तहबाट आउनुलाई सामान्य रुपमा लिन नहुने उनीहरुको बुझाइ छ ।

भारतले केही इस्लामिक अतिवादी समूहले कोसी ब्यारेजमा आक्रमण गर्न सक्ने भन्दै लिखित पत्र नै पठाएपछि स्थानीय प्रशासनले कोसी ब्यारेज क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायले जाँचपड्ताल समेत सुरु गरेको छ । ‘सूचना प्रति समवेदनशील हुनैपर्छ, सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता बढाउनु पर्छ,’ पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘यति गम्भीर र समवेदनशील विषयमा डिस्ट्रिक मेजिस्ट्रेड अफिसले पत्र किन लेख्यो भन्ने शंकास्पद छ, यसलाई सामान्य रुपमा लिन सकिदैंन ।’

गृहमन्त्रालयका अनुसार भारतको बिहार राज्य अन्तर्गत सुपौलका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) ले वीरपुरस्थित सिंचाइ विभागलाई लेखेको पत्रमा उल्लेख छ, ‘इस्लामिक संगठन लस्करे तोएबा, जैस ए मोहम्मद तथा पाक मूलको भारतीय मुजाहिद्दीन समुहले महत्वपूर्ण प्रतिष्ठानमा लक्षित गरेर योजना बनाएको सूचना प्राप्त भएको छ । छिमेकी देश नेपालमा राजनीतिक अस्थिरता र नेपाली माओवादी नेताको भारतविरोधी गतिविधि मध्यनजर गर्दा प्रमुख प्रतिष्ठानमा प्रशासनिक सतर्कता र सुरक्षा कारवाही आवश्यक छ ।’

सुपौलका जिल्ला अधिकारीले विभागलाई लेखेको पत्रमा कोसी ब्यारेजको सुरक्षामा खटिएका नेपाल प्रहरीको क्रियाकलापलाई पनि निरीक्षण गरेर प्रतिवेदन उपलब्ध गराउन भनिएको छ । ‘यति समवेदनशील कुरा किन यति सामान्य रुपमा औपचारिक र लिखित रुपमा आयो ? यो गृह र परराष्ट्र मन्त्रालयमार्फत होइन, त्यसभन्दा पनि माथिल्लो तह (उच्च तह) बाट अति नै गोप्य रुपमा आउनु पर्थ्यो,’ श्रेष्ठले भने । भारतको सूचनालाई सिधा मात्र नभई अन्य तरिकाले पनि अध्ययन र विश्लेषण गर्नुपर्ने उनले बताए ।

सुरक्षा चुनौति देखाएर भारतले नेपालसँग नयाँ सन्धीसम्झौता गर्न चाहेको हुन सक्ने उनले बताए । पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य पनि कोसी ब्यारेजको सुरक्षा थ्रेटका विषयमा भारतले दिएको सूचनालाई हल्का रुपमा लिन नहुने बताउँछन् । उनले भने, ‘यति समवेदनशील विषय माथिल्लो तहबाट आउनुपर्थ््यो, किन तल्लो तहबाट आयो ? त्यसका पछाडी अन्य उद्देश्य पनि छन् कि ? हामीले गम्भीर भएर बुझ्नु पर्छ । नागरिक दैनिक

Koshi Koshi Byaraj

विशेष