ताजा खबर मेरो परिवार मेरो कथा News

बैधानिकता नपाएकी नेपालकी अधिराजकुमारी

बैधानिकता नपाएकी नेपालकी अधिराजकुमारी

नेपाल अन्तर्राष्ट्रिय जगतमा उतिसारो परिचित भइसकेको थिएन । प्रजातन्त्रको बिज रोपिन नपाउंदै उखेलिएको थियो । विपी कोइराला नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई राजा महेन्द्रले सहजै अपदस्त गरेका थिए । त्यही मेसोमा बेलायतकी महारानी एजिजावेथ नेपालको राजकीय भ्रमणमा आउंदैथिइन । रानीको नेपाल भ्रमणको रिपोर्टिङ गर्न इटालीको म्यागजिनले ३० बर्षिया बार्बरालाई नेपाल पठायो । रानी फर्किइन् । रिपोर्टिङ सकियो । तर बार्बरा फर्किनन् । ५५ बर्ष नेपालमा बसेकी बार्बरा यही भूमीबाट अस्ताइन् ।

कान्छा सरकारसँग प्रेम

राजा महेन्द्रका भाइ बसुन्धरालाई कान्छा सरकार भनिन्थ्यो । रिपोटिङका क्रममा कान्छा सरकारको नजर बार्बरामा पर्यो । नजर जुध्यो माया बस्यो भनेजस्तै भयो । बसुन्धराले बार्बरासँगै बिहे गर्ने भनेपछि दरबारमा तहल्का मच्चियो । विदेशीसँग विहे गरे उनको अधिराजकुमार पदवी समेत गुम्ने खतरा निम्तियो । उनका विवाहिता श्रीमतीपनि छँदै थिए । विपी कोइरालाले आत्मवृत्तान्तमा लेखे अनुसार लिभिङ टुगेदर गर्ने निष्कर्षमा बसुन्धरा र बार्बरा पुगे ।

मायाका खातिर बार्बरा जे गर्नपनि तयार भइन् । समर्पणका कारण देशदेखि जागिरसम्म त्यागेकी उनका लागि बिबाह अतिरिक्त सवाल थियो । जन्मले अमेरिकन बार्बरा कर्मले नेपाली भइन् । नेपाालको दरबारमा विदेशी चेलीको प्रसंग त्यतिबेला खुबै चर्चाको विषय रह्यो ।

बसुन्धराको निधन र वियोग

बसुन्धरा र बार्बराको प्रेम शब्दमा बर्णन गर्न नसकिने खालको थियो । बसुन्धारा खुकुरी थिए भने बार्बरा खुकुरीको धार थिइन् । बसुन्धारा चरा भए उनी पखेटा हुन्थिन् । जात मिल्दैनथ्यो, भेष मिल्दैनथ्यो, देश मिल्दैनथ्यो, भाषा मिल्दैनथ्यो, संस्कार र सस्कृति मिल्दैनथ्यो । मिलेको थियो त केबल मन । मन मिलेको भन्दा ठूलो धन अरु के हुन्थ्यो र ? बार्बरा सबै बिर्सैर नेपालमै रमाइन् ।

प्रेमलापको १७ बर्ष पुग्दानपुग्दै बसुन्धरा बिते । बसुन्धरा छइन्जेल उनका सबै थिए । बसुन्धरा बितेपछि उनका कोही भएनन् । त्यसपछि बार्बराको जीबन दरबारबाट झुपडीमा झर्यो । उनी दरबारबाट निकालिइन् ।

बाँसबारीमा एउटा छाप्रोमा बस्न थालिन् । उनीसँग बसुन्धराले दिएका अमुल्य उपहार थिए । प्रेमका निशानीलाई हेरेर उनले चित्त बुझाउने प्रयास गरिन् । उनलाई अमेरिका फर्काउन उनका आफन्तले प्रयास नगरेका होइनन् । तर, उनी प्रेमभूमी रहन चाहिन् । समाजसेवा र लेखनमा सक्रिय हुन थालिन । राजा विरेन्द्र र ज्ञानेन्द्रकी काकी बार्बरालाई दरबारले सधैं दुःख दिइरह्यो । कारण, उनले दरबारको सम्पत्तिमाथि दाबी गर्न सक्थिन । तर, उनी सम्पत्तिका लागि नेपाल बसेकी थिइनन् । पटकपटक नेपालबाट निकाला गरिएपनि उनले जीबनको अन्त्यसम्म नेपाल छाडिनन् ।

प्रेमकै लागि धर्म परिवर्तन गरेकी बार्बरा

Barba

हिन्दु राजपरिवारकी भित्री सदस्य बार्बरालाई क्रिष्चियन रहिरहन सहज थिएन । उनका लागि धर्मभन्दा ठूलो प्रेम थियो । उनी हिन्दु भइन । गणेशभक्त बार्बराको हिन्दु धर्मप्रतिको लगाव जीबनपर्यन्त रहिरह्यो । घरको करेसामा उनले बुद्ध मूर्ति स्थापना गरेकी थिइन । हरेक दिन उनी बुद्धसँग शान्तिका लागि कामना गर्थिन । शान्तिकालमा नेपाल आएकी उनले ठूल्ठूला आन्दोलनदेखि माओवादी युद्धलाई नजिकबाट नियालेकी थिइन् । उनको एउटै उद्देश्य थियोः नेपालको शान्ति फर्काउने ।

नेपाली नागरिकता

दरबारदेखि झुपडीसम्मको बसाइ गरेकी बार्बराले नेपाललाई नजिकबाट चिनेकी थिइन । पेशाले पत्रकार उनी कुशल लेखिका पनि थिइन् । उनको धोको नेपालको बैधानिक नागरिक बन्ने थियो । दरबारकी बुहारी भएपनि उनले बैधानिकता पाएकी थिइन् । गणतन्त्र स्थापनापछि सरकारले उनको नेपालप्रेमलाई सम्मान गर्दै नागरिकता प्रदान गर्यो । उनले गणतन्त्र स्थापनापछि मात्रै नेपालको नागरिकता प्राप्त गरेकी हुन् । दरबारको अंशमाथि दाबी गर्नसक्ने भयका कारण उनलाई नागरिकता दिइएको थिएन ।

Barbaraबैशाख १०, २०७३ मा उनको इहलिला समाप्त भयो । उनको ईच्छा थियो नेपालको नागरिकता शिरानमा हालेर मर्ने । उनको त्यो धोका पूरा भयो ।

प्रस्तुतिः कञ्चन न्यौपाने

(बार्बरासँग निकट रही काम गरेका पत्रकार किशोर श्रेष्ठको अनुभुति अर्को दिन प्रकाशित गर्ने छौं –सम्पादक)

Barbara Adms

विशेष