ताजा खबर राजनीति News

न्यौपानेको नेतृत्वमा क्रान्तिकारी विद्यार्थी संगठनहरुको एकता आज, मल्ल इन्चार्जमा बढुवा

न्यौपानेको नेतृत्वमा क्रान्तिकारी विद्यार्थी संगठनहरुको एकता आज, मल्ल इन्चार्जमा बढुवा

Bidyarthi

काठमाडौं, साउन १३ । एकीकृत भएका ५ माओवादी सम्बद्ध विद्यार्थी संगठनहरुको एकता भेला आज हुंदैछ । काठमाडौंको प्रज्ञा भवनमा हुने एकता भेलाको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

तत्कालिन एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र न्यौपानेलाई भेलाले अध्यक्ष वा संयोजक चयन गर्नेछ । पदाधिकारीको टुंगो लागेमा उनी अध्यक्ष हुनेछन् । राष्ट्रिय सम्मेलन ६ महिनाभित्र गर्ने तयारी भएकाले उनको संयोजकत्वमा आयोजक समिति गठन गर्ने तयारी भइरहेको छ ।

न्यौपानेको नाम नेतृत्वका लागि सर्वसम्मतिले तय भइसकेको माओवादी स्रोतले जानकारी दिएको छ । खाशमा ५ विद्यार्थी संगठनहरुको एकीकृत केन्द्रीय समितिको बैठक भएपनि संख्या ठूलो भएकाले भेला नामाकरण गरिएको हो ।

मल्लको बढुवा

अखिल क्रान्तिकारीको संयोजक रहेका रमेश मल्लले विद्यार्थी फाँटको इन्चार्ज र शिक्षा विभागको सचिवको जिम्मेवारी पाउने भएका छन् । उनलाई पार्टीको पोलिटव्यूरो सदस्यमा बढुवा गर्ने बारेमा माओवादीमा सहमति भइसकेको बताइएको छ ।

विद्यार्थी संगठनमा दर्जनौ पार्टी केन्द्रीय सदस्य

विद्यार्थी संगठनको भेला भएपनि यो माओवादी पार्टीको केन्द्रीय समितिको अर्को रुप जस्तो देखिनेछ ।माओवादीले २१ सय सदस्य रहेको केन्द्रीय आयोजक समिति बनाउंदा विद्यार्थी संगठनबाटै दर्जनौ परेका छन् । पार्टीको केन्द्रीय सदस्य भएकाको संख्या नै धेरै भएपछि विद्यार्थीको केन्द्रीय सदस्य गौण बनेको भन्दै छेडछाड चल्ने गरेको छ । भावि प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले उद्घाटन गर्ने आजको भेलालाई महत्वका साथ हेरिएको छ ।

Maosit Student Narendra Neupane Prachanda Ramesh Mall Student Union

विशेष