गरिबको पीडा बुझ्न एक अर्बपतिले आफ्ना एक्ला छोरालाई बेकरीमा काम गर्न भनेपछि
बुबाले इमर्जेन्सीका लागि मात्र प्रयोग गर्ने गरी ७ हजार भारतीय रुपैयाँ दिएका थिए । छोरालाई जीवनको अनुभव गर्न उनले यस्तो निर्णय गरे । उनको ब्यागमा तीन जोडा कपडा मात्र हाल्न लगाएका थिए । सावजी ढोलकियाले आफ्नो छोरासँग यसो गर्नुको कारणबारे भन्छन ‘मैले छोरासमक्ष तीन सर्त राखें ‘मैले उनलाई एक स्थानमा साताभन्दा बढी नबसीकनै आफ्ना लागि पैसा कमाउनु, काम पाउनका लागि न बुबाको परिचय न मोबाइलको उपयोग गर्नु र तिमीलाई घरबाट उपलब्ध हुने ७ हजार रुपैयाँ भैपरी बाहेकको अवस्थामा खर्च नगर्नु भनेको थिएँ ।’
ती वुवा हुन भारतको सुरतमा कम्पनीको मुख्यालय राखेर ७१ मुलुकमा आफ्नो कारोबार गर्दै आएका र ६ हजार करोड भारतीय रुपैयाँ ९सय ९६ अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति भएका एक गुजराती हिरा व्यापारी । उनले धन भईकन पनि आफ्ना एक्लो छोरालाई घरबाहिर पठाए ।
आम मानिसको जस्तै जीवनयापनको अनुभव गर्न धनाढ्य पिताले छोरालाई बाहिर पठाएका हुन् । अमेरिकामा एमबीए पढ्दै गरेका २१ वर्षीय द्रव्य ढोलकियालाई अर्बपति बुबा सावजीले त्यहाँको कोची सहरमा एक महिना काम गरेर आउन अह्राए । बिदामा घरका आएका द्रव्यले बुबाको आज्ञा पालन गर्दै जुन २१ मा केरलाको कोची पुगे । त्यहाँ जाने बेला अर्बपति बुबाले इमर्जेन्सीका लागि मात्र प्रयोग गर्ने गरी ७ हजार भारतीय रुपैयाँ दिएका थिए ।
ढोलकियाले छोरालाई जीवनको महत्व बुझ्न तथा काम र दाम पाउन गरिबहरूले कसरी संघर्ष गर्दा रहेछन् भनेर बुझ्न त्यसो गरेको सञ्चार माध्यमहरूलाई बताएका छन् । उनी भन्छन ‘यी व्यावहारिक अनुभव र जीवनको भोगाइ विश्वको कुनै पनि विश्वविद्यालयमा सिकाइँदैन, ती सीप सिकोस् भन्ने उद्देश्यका साथ द्रव्यलाई घर बाहिर पठाएको हुँ ।’ यो विषयलाई लिएर ढोलकिया अचेल भारतीय सञ्चार माध्यमहरूमा छाएका छन् । हुन त यो चर्चा उनका लागि पहिलो भने होइन । यसअघि उनी आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई बोसनका रूपमा कार र फ्ल्याट दिने निर्णय गरेसँगै अन्तर्रा्ष्ट्रिय रूपमा चर्चामा आएका थिए । हाल छोरा द्रव्यका कारण चर्चामा छन् ।
छोरा द्रव्यको आफ्नो बुबाप्रति असीम श्रद्धा रहेकै कारण उनी घरबाट बाहिर गएर काम गर्ने निधो गरेका हुन् । त्यसैले बुबाको सबै सर्त स्वीकार गर्दै कहिले नपुगेको र त्यहाँको भाषाको समेत ज्ञान नभएको ठाउँमा उनी पुगे । एकदमै नौलो ठाउँमा उनले कामको खोजी गरेर जीवनयापन गर्ने बुबाको आदेश स्वीकार्नु अन्यका लागि समेत प्रेरणाको स्रोत हो । हरेकृष्ण डायमन्डका ठूला व्यापारी ढोलकिया भन्छन ‘उनले कोची जाने निर्णय गरे, उनलाई मलायालम भाषा आउँदैनथ्यो, सामान्यतया त्यहाँ हिन्दी त्यहाँ बोलिँदैन ।’
कोची पुगेपछि द्रव्यलाई के गर्ने र नगर्ने भन्ने अन्योल थियो । ‘पाँच दिनसम्म मैले न त कुनै काम न त बस्नका लागि उपर्युक्त ठाउँ नै फेला पार्न सकें,’ द्रव्यले भने, ‘मैले ६० जति ठाउँमा काम खोज्ने क्रममा रिजेक्टेड (अस्वीकृत) भइसकेको थिएँ, म निराश र हतोत्साहित बन्दै गएको अवस्था थियो । मलाई नौलो त्यो ठाउँमा कसैले चिन्दैनथे । मैले काम खोज्दै गर्दा म किन रिजेक्टेड भएँ भन्नेबारे बुझ्ने मौका पाएँ । मैले थाहा पाएँ कि मानिसका लागि नोकरीको महत्वत कति छ ? उनले आफ्ना रोजगारदातालाई ढाँटेका थिए ।
आफू गुजरातको अन्त्यन्तै गरिब परिवारमा जन्मेको र कक्षा १२ भन्दा बढी पढ्न नसकेको उनीहरूलाई बताएका थिए । द्रव्यले पहिलो पटक एउटा बेकरी पसलमा टेबुल सफा गर्ने काम पाए । त्यसपछि उनी टोलिफोन केन्द्र, जुत्ता पसल र पछि म्याकडोनलको आउटलेटमा समेत काम गरे ।तर, महिना भरिमा उनले ४ हजार भारतीय रुपैयाँभन्दा बढी कमाउन सकेनन् ।
‘मलाई पैसाको अलिकति पनि चिन्ता थिएन किनभने ४० रुपैयाँ खाना र प्रत्येक दिन लजमा बस्न २ सय ५० रुपैयाँ मात्र आवश्यक थियो,’ द्रव्य भन्छन् । उनी अघिल्लो मंगलबार मात्रै आफ्नो घर सुरत फर्के ।आफ्नो बिदा सकेर उनी ५ अगस्टमा अमेरिका जाँदै छन् । द्रव्य छुट्टी मनाउन घर आएका थिए तर बुबाले नयाँ अनुभव हासिल गर्न बाहिरै पठाइदिएका थिए । उनी दिक्क नमानीकनै गएका थिए ।
garibko pida surat dhanadya