जहाँका बासिन्दा सडकमा रात गुजार्छन्
साउन – १५ । बाँके फत्तेपुर उतिसम्म कुरुप कहिल्यै थिएन । झिँगटीकै सही, घरहरु थिए, बस्ती थियो । साँझविहान चुलो धुवाउँथ्यो । लालाबाला ठाँटिएर स्कुल जान्थे । खेतिखलियानमा पसिनाको बाली लहलहाइरहन्थ्यो । स्थानीयको दैनिकी लयमा चलिरहेको थियो ।
चार दिन भयो, फत्तेपुरले यी सबै गुमायो । राप्ति नदीको भयानक भँगालो जसै गाउँमा पस्यो, भएजति सिनित्तै बढार्यो ।
स्थानीय त जोगिए तर सह लुटियो, जिन्दगी बिथलियो । अहिले खण्डहरझैँ भएको छ पूरै बस्ती । घरहरु हिलोमा डुबेका छन् । कतिपयको छानो उडेको छ त कतिको भित्तो मात्रै बाँकी छ ।
फत्तेपुर –८ निवासी सीतापती थारुको परिवार खुल्ला आकाशमुनि रात कटाइरहेछ । घर ढलिहालेको त छैन तर हिलोले बसिसाध्य छैन । चिसो उत्तिकै । ६० नाघिसेकी सीतापतीलाई आफ्नो स्वास्थ्यभन्दा सुत्केरी बुहारीको स्वास्थ्यप्रति वढी चिन्ता छ । बुहारी गीता पाँच दिनअघि मात्र सुत्केरी भएकी हुन् । आजको नागरिकमा समाचार छ ।
Phattepur